२०८१ असार १ गते | 14th of June 2024

नेपाल युक्रेनको पक्षमा, चीन र भारत तटस्थ

नेपाल युक्रेनको पक्षमा, चीन र भारत तटस्थ
Sanchar_np प्रकाशित: २०७८ फागुन १९ गते ९:२७

नेपालले युक्रेनमाथि रुसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालसहित १४१ सदस्य राष्ट्रले रुसी आक्रमणको निन्दा गर्ने पक्षमा मतदान गरेका हुन् । यी राष्ट्रहरूले युक्रेनबाट ‘तत्काल, पूर्ण रूपमा र बिनासर्त’ सैनिक फिर्ता गर्न पनि रुससँग आग्रह गरेका छन् ।

नेपालका दुई छिमेकी मुलुक चीन र भारत भने तटस्थ बसेका छन् । चीन र भारतसहित ३५ मुलुक मतदानमा अनुपस्थित भए । संयुक्त राष्ट्रसंघमा १९३ सदस्य राष्ट्र छन् ।

प्रस्तावको विपक्षमा रुससहित पाँच देशले मतदान गरे । उत्तर कोरिया, बेलारुस, सिरिया र इरिट्रेआले रुसलाई साथ दिएका हुन् ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले महासभामा आफ्नो भनाइ राख्दै नेपालले कुनै पनि सार्वभौम मुलुकको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रताविरुद्ध धम्की वा बल प्रयोगको विरोध गर्ने बताएका छन् । शान्तिको बाटोमा फर्कन ढिलाइ गर्न नहुने उनको भनाइ छ । राईले कूटनीति र संवादमार्फत शान्ति स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

परराष्ट्र मन्त्रालयले यही फागुन १२ गते विज्ञप्ति जारी गर्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेको थियो । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँगको टेलिफोन संवादमा नेपालले युक्रेनको सार्वभौमिकतालाई समर्थन गर्ने बताएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *