२०८१ असार १ गते | 14th of June 2024

अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा पछार्छाैं : केपी ओली

अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा पछार्छाैं : केपी ओली
Sanchar_np प्रकाशित: २०७८ चैत ५ गते ५:५१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनलाई स्यालहरूको मोर्चाको संज्ञा दिएका छन् ।

‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले बनाइदिएको गठबन्धन हो र रु यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,’ ओलीले भने । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने र आफूहरू जनताको बीचमा जाने ओलीले बताए ।

माओवादी केन्द्रको अहिलेको हैसियत एमालेले बनाइदिएको भन्दै उनले भने, ‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ । त्यसभित्रको त सकिसकेको छ । मेयर उपमेयरदेखि जनप्रतिनिधि र नेताहरू एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छैन ?’

नेकपा माओवादीलाई रित्याउने मात्रै होइन, खुर्कीखार्की पारेर खाली पार्ने दाबी समेत उनले गरेका छन् । प्रचण्डले एमालेले टाँसिदिएको जुँगामा ताउ लगाइरहेको ओलीले टिप्पणी छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने पार्टी नै नभएको ओलीको टिप्पणी छ । ‘अर्को एउटा पार्टी छ त्यो बनेको नै छैन । बन्दै बन्दैन । ध्वस्त हुन्छ । समाप्त हुन्छ, अहिले फुरफुर मात्रै हो,’ ओलीले भने ।

सम्बोधनका क्रममा ओलीले कांग्रेसको पनि उछितो काढेका छन् । उनले नेपाली कांग्रेस अब बुढो भएको दाबी गरे ।

ओलीले भने, ‘६० वर्षभन्दा माथिकाले कांग्रेसलाई भोट हाल्दैनन्, सामाजिक सुरक्षा भत्ता लिइरहेका र लिने तयारीमा रहेकाले पनि कांग्रेसलाई भोट हाल्दैनन् ।’

७५३ स्थानीय तहमध्ये एमालेले ४०० वटामा जीत हासिल गर्नुपर्ने ओलीले बताए । कार्यकर्तालाई सोही अनुसार परिचालित हुन पनि उनले निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *