२०८१ असार ३१ गते | 14th of July 2024

संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ

संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ
Sanchar_np प्रकाशित: २०८१ असार १७ गते १४:४२

लुम्बिनी। बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किएकी उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ।

लुम्बिनीको पडरिया गाउँस्थित प्रवेशद्वारभित्र सर्वसाधारणलाई प्रवेशमा रोक लगाएपछि मायादेवी सुत्केरीपथ हुँदै मायादेवी मन्दिरसम्म जाने यात्रुको बाटो बन्द भएको छ । मायादेवी मन्दिरबाट पडरिया, खुनगाई, मनौरी, सिबलवा, बिजुवा, सिसहनिया, दोहनी, निगलिहवा हुँदै तिलौराकोट दरबारसम्मको करिब ३६ किलोमिटर खण्डलाई मायादेवी सुत्केरीपथ भनिन्छ ।

लुम्बिनी विकास कोषले उक्त पथ लुम्बिनी गुरुयोजना विपरीत रहेको भन्दै आवागमन रोक लगाएको हो । पर्यटक तथा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएपछि धार्मिक आस्थाका यात्रुमा निराशा उत्पन्न भएको छ ।

बुद्ध वचनको प्रचारप्रसार संसारभरि भइरहँदा उनको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) को प्रचारप्रसार र प्रवर्द्धनमा सरोकार भएकाको ध्यान नपुगेको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का अभियानकर्ता मेघनाथ आचार्यले गुनासो गरे । ‘वि.सं २०७७ मङ्सिरमा उक्त मार्ग पछ्याउँदै युनेस्कोका प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमस स्क्ररोमले साइकल यात्रामार्फत बुद्ध जन्मस्थल लुम्बिनीबाट गोरेटो, ग्राभेल र कालोपत्र सडक हुँदै चार घण्टामा शाक्य वंशीय राजधानी तिलौराकोट पुगेका थिए’, उनले भने ।

लुम्बिनी विकास कोषका तत्कालीन सद्भावना राजदूत एवं पर्यटनविद् विक्रम पाँडेकाजीले उक्त मार्गलाई ‘पर्यटन प्रोडक्ट’ बनाउने अवधारणा ल्याएका थिए । ‘बुद्ध गर्भस्थ रहँदा र उनको जन्मपछि शिशुसहित माता मायादेवी यही बाटो हुँदै यात्रा गरेकाले धार्मिक इतिहाससँग यो पथको गहिरो सम्बन्ध छ’, मायादेवी मन्दिरका यसअघिका पुजारी पण्डित योगेन्द्रनाथ पाण्डेले भने, ‘यो पथले मायादेवीको ‘सुत्केरी यात्रा’ सम्झना दिलाउँछ ।’

लुम्बिनीका स्थानीय बौद्ध भिक्षु विवेकानन्दका अनुसार मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगुप्ताको मार्ग दर्शनमा इपू २४९ मा, उनीपछि चिनियाँ यात्रीहरू त्सेग साई (चौथो शताब्दी), फहियान (पाँचौँ शताब्दी) र ह्वेन सांग (सातौँ शताब्दी) यही पथबाट लुम्बिनी प्रवेश गरेका इतिहास छ ।

‘सन् १३१२ मा कर्णाली क्षेत्रका राजा रिपु मल्ल पनि यही पथ हुँदै मायादेवी मन्दिर क्षेत्र प्रवेश गरेका थिए’, उनले भने, ‘अङ्ग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहरर (सन् १८९६), पिसी मुखर्जी (सन् १८९९) र भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा लुम्बिनीको अन्वेषण गर्दा खुनगाई र पडरिया गाउँ हुँदै यसै पथबाट बुद्ध जन्मस्थल पुगेका थिए ।’

लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडरिया गाउँस्थित मुख्य प्रवेशद्वारलाई बन्द गरी विकास कोषले संरक्षणमा ध्यान नदिँदा मायादेवी सुत्केरीपथ विस्मृतिको गतिमा जाने खतरा बढेको उनको भनाइ छ । बौद्ध भिक्षु विवेकानन्दले यो पथ भौतिक संरचना मात्र नभई धार्मिक तथा ऐतिहासिक धरोहर पनि भएकाले यसको प्रभावकारी व्यवस्थापन गरी पुनः सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दिन खाँले धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मानिएको मायादेवी सुत्केरीपथलाई सरोकार भएकाले संरक्षण र प्रवर्द्धनमा पहल गर्नुपर्नेमा जोड दिए । उक्त मार्ग प्रवेशमा रोक लगाएर बुद्ध जन्मस्थलको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन, संस्कृति र इतिहासलाई नै ओझेलमा पर्दै गएको उनले बताए ।

‘लुम्बिनी विकास कोषले उक्त पथअन्तर्गत पडरिया गाउँस्थित मुख्य प्रवेशद्वारलाई सर्वसाधारणका साथै धार्मिक यात्रुका लागि खुला राख्नुपर्छ’, संयोजक खाँले भने, ‘यसले पर्यटन प्रवर्द्धन, प्रचारप्रसार हुनाका साथै स्थानीयको आयस्तरमा वृद्धि हुनेछ ।’ सुत्केरी पथको संरक्षण र प्रवर्द्धनका लागि सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डण्यन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष योजना, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

संयोजक खाँले भने, ‘स्थानीयको सहभागिता र सहकार्यबिना संरक्षण कार्यक्रम सफल हुन सक्दैन । तसर्थ, उनीहरूको प्रत्यक्ष सहभागितामा आधारित योजना बनाएर आवश्यक बजेट विनियोजन गरी संरक्षण र प्रचारप्रसारको पहल गर्नु जरुरी छ ।’

बुद्ध जन्मस्थल लुम्बिनीको गौरव र महिमालाई ध्यानमा राख्दै, सरोकार भएकासँगको सहकार्यमा यो पथको संरक्षण तथा प्रवर्द्धन हुनुपर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक प्राध्यापक गजेन्द्र गुप्ताले बताए । ‘धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन विभिन्न पर्यटकीय सुविधासहित यसको व्यवस्थापन हुनुपर्छ’, उनले भने, ‘यसले स्थानीयको अर्थतन्त्रलाई टेवा पु¥याउनाका साथै धार्मिक पर्यटकीय सम्भावनालाई वृद्धि गर्नेछ ।’

ऐतिहासिक दस्तावेज र प्रमाणित तथ्यहरूका आधारमा मायादेवी सुत्केरीपथका बारेमा थप अनुसन्धान गर्दै यसको महत्वलाई व्यापक बनाउनुपर्नेमा प्राध्यापक गुप्ताले जोड दिए । ‘यो पथले लुम्बिनीको महत्वलाई अझ गहिरो बनाउँछ । यसको संरक्षणबाट इतिहास मात्रको संरक्षण नभई विश्वभरका बौद्ध धर्मावलम्बीलाई पनि पवित्र सुत्केरी मार्गको महत्वबारे जानकारी गराउन सक्छौँ ।’

तथागत (बुद्धको एक नाम)ले गृह त्याग गर्दा यही पथको प्रयोग गरी पवित्र अनोमाघाट (अहिलेको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अजमाघाट)बाट दानव नदी पार गर्दै मावली नगर देवदह र मधगको राजगृह (राजगीर) नगर हुँदै बोधगयासम्म पुगेका सहायक प्राध्यापक गुप्ताको दाबी छ ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भने, ‘हामीले कोष क्षेत्रस्थित मायादेवी सुत्केरीपथलाई व्यवस्थापन गर्न विभिन्न योजना बनाएका छौँ । यो पथ ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ, त्यसैले यसको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिएका छौँ । यसलाई पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले पनि संरक्षित राख्ने प्रयास गरिरहेका छौँ ।’ उक्त मार्गको पडरियाबाट मायादेवी मन्दिर खण्डलाई व्यवस्थित गरी आवश्यक पूर्वाधार निर्माण गर्न स्थानीयसँगको समन्वय र सहकार्यमा विकास योजना तयार पारिरहेको उनले जानकारी दिए ।

‘योजनाको खाका तयार गरिरहेका छौँ । तीनै तहका सरकारसँग छलफल गरी आवश्यक बजेटको प्रस्ताव गरेका छौँ’, सदस्यसचिव शाक्यले भने, ‘आकर्षक शैलीमा यो पथलाई पुनः निर्माण गर्ने, चारैतिर हरियाली बढाउने, बिरुवा रोप्ने, नियमित सरसफाइ गर्ने, पर्यटकलाई यसको महत्त्व बुझाउन ठाउँठाउँमा जानकारीमूलक सूचनापाटी राख्नेलगायत काम गर्ने योजना छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights