२०८१ असार ३१ गते | 14th of July 2024

फिक्कल–नयाँबजार सडक कालोपत्र

फिक्कल–नयाँबजार सडक कालोपत्र
Sanchar_np प्रकाशित: २०८१ असार १८ गते १३:४१

इलाम। इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ।

सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो।

कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो। ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ रुपैयाँको लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इन्जिनियर वीरेन्द्र लामाले बताए। सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाई गरिएको छ।

सडक कालोपत्र बाहेक किलोमिटर पोष्ट, सेफ्टी बारलगायतको कामसमेत गरिएको छ। २०७९ कात्तिक १५ गते सम्पन्न हुनुपर्ने भए पनि सम्पन्न नभएपछि एक पटक म्याद थप भएको थियो। २०७६ देखि नै काम सुरु भए पनि २०७७ कात्तिक २ गते ठूलो बाढी आएर पुलसमेत बगाएकाले काममा ढिलाइ भएकाले म्याद थप्नुपरेको निर्माण कम्पनीका प्रतिनिधि डिल्लीराम खनालले बताए।

सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई दैनिक यात्रा गर्न सहज भएको छ। सडक कालोपत्र भएसँगै सूर्योदय नगरपालिकाको गोर्खे तथा माइजोगमाई गाउँपालिकाको जोगमाई, नयाँबजार, प्याङलगायत विभिन्न क्षेत्रका स्थानीय लाभान्वित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights