२०८१ असार ३१ गते | 14th of July 2024

पूर्वका साना खोलामा बाढीको जोखिम

पूर्वका साना खोलामा बाढीको जोखिम
Sanchar_np प्रकाशित: २०८१ असार २६ गते १७:४४

काठमाडौं। हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ।

सर्दुखोलामा पानीको सतह १०४.५ मिटर पुगेको छ। यसलाई जोखिमको तह मानिन्छ। बूढीखोलामा पानीको सतह ८५ मिटर पुगेको छ। यो पनि जोखिमको तह हो। उक्त खोलामा अहिले पानीको सतह ८५ दशमलव ५१ मिटर पुगेको विभागले जनाएको छ।

बाढी पूर्वानुमान माहाशाखाका अनुसार सुनसरीमा १२ घण्टामा एक सय ७१ दशमलव चार मिलिमिटर पानी परेको छ।

धरानमा एक सय ५९, उदयपुरमा एक सय ४४, उदयपुकै मुर्कुची बजारमा एक सय २५ दशमलव चार, धनकुटामा एक सय ४२ दशमलव र मोरङ केराबारी क्षेत्रमा एक सय ५३ दशमलव आठ मिलिमिटर पानी २४ घण्टाको अवधिमा परिरहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

विभागका प्रवक्ता सुनिल पोखरेलले आजका लागि खासगरी मुलुकको पूर्वी जिल्ला सिन्धुली, झापा, उदयपुर, सुन्सरीका साना नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ।

‘आज पूर्वका साना नदीहरुमा बाढीको जोखिम भएकाले त्यस क्षेत्रमा मानिहरुलाई हामीले बाढीबाट बच्न एसएमएस पठाइसकेका छौँ,’ उनले भने, ‘बिहीबारदेखि नारायणी नदीभन्दा पूर्वतिरका नदीमा बाढीको जोखिम बढ्नसक्छ।’

प्रवक्ता पोखरेलले बाढीको जोखिम बढ्ने भए पनि आत्तिहाल्नुपर्ने खतरा भने नरहेको स्पष्ट परेका छन्। मौसम पूर्वानुमान माहाशाखाले आज बिहान जारी गरेको विशेष बुलेटिनमा पनि देशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जानकारी दिएको छ।

‘ती क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढीपहिरोबाट बच्न तथा ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन प्रवक्ता पोखरेलले अनुरोध गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights