२०८१ असार ३१ गते | 14th of July 2024

प्राधिकरणले काटिदियो बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्टको बिजुली

प्राधिकरणले काटिदियो बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ, घोराही र अर्घाखाँची सिमेन्टको बिजुली
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते ११:०४

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले तीनवटा उद्योगको बिजुली काटिदिएको छ।

डेडिकेटेड र ट्रंकलाइनबाट वर्षौँदेखि उपभोग गरेको बिजुलीको बक्यौता भुक्तानी नगरेको भन्दै प्राधिकरणले रिलायन्स स्पिनिङ, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिदिएको हो।

ती उद्योगको बिजुलीको लाइन काटिएको प्राधिकरणका एक अधिकारीले बताए।

यसअघि यही असार १० मा उद्योगहरूलाई पत्र काट्दै प्राधिकरणले बक्यौता महशुल तिर्न ताकेता गरेको थियो। उक्त अवधिमा पनि बक्यौता नतिरेको भन्दै प्राधिकरणले विद्युत् लाइन काटिदिएको हो।

प्राधिकरणले पत्रमार्फत उद्योगहरूलाई २०७२ माघदेखि ०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंकलाइनको महशुल दर थप दस्तुरसहित १५ दिनभित्र पठाउन भनेको थियो।

उसले तोकिएको अवधिमा महशुल नबुझाए कानुनअनुसार कारबाही हुने चेतावनी दिएको थियो।

प्राधिकरणले अर्घाखाँची सिमेन्टलाई पठाएको ताकेतापत्रअनुसार उद्योगले ४४ करोड ८६ लाख ८ हजार ५ सय ६६ रुपैयाँ तिर्न २५ गतेसम्मको समय पाएको थियो। तर उद्योगले नतिरेपछि बिजुली नै काटिएको छ।

यसअघि पनि ३३ वटा उद्योगहरूको बिजुली काटेको प्राधिकरणले ०८० पुसमा अधिकांशको लाइन जोडिदिएको थियो। उद्योगी र प्राधिकरणबीच डेडिकेटेड र ट्रंकलाइनको महशुल विवाद पछिल्लो समय सतहमा छ।

प्राधिकरणका अनुसार उद्योगहरूबाट ०७२ माघअघिको ९७ करोड रुपैयाँ प्रिमियम महसुल लिन बाँकी छ।

०७२ माघदेखि ०७५ वैशाखसम्मको ६ अर्ब र त्यसयताको ८ अर्ब प्रिमियम शुल्क लिन बाँकी छ। यसबाहेक २५ प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याजसमेत गर्दा अहिले ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विद्युत् प्राधिकरणले बताउँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights