२०८१ साउन १२ गते | 27th of July 2024

युक्रेन युद्धमा कमाण्डरका रुपमा उदाएका भोलोडिमिर जेलेन्स्की

युक्रेन युद्धमा कमाण्डरका रुपमा उदाएका भोलोडिमिर जेलेन्स्की
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ९:०५

भोलोडिमिर जेलेन्स्की युक्रेनको स्वतन्त्रतामाथि रुसबाट भइरहेको गम्भीर आक्रमणको समयमा विश्वासयोग्य युद्ध नेता (कमाण्डर) का रुपमा उदाएका छन्। तीन वर्षअघि युक्रेनको राष्ट्रपतिमा निर्वाचित जेलेन्स्कीको विगत राजनीतिक थिएन। उनी राजनीतिमा नयाँ हुन्, सुरुमा उनको उम्मेदवारी केहीका लागि व्यंग्य जस्तै लागेको थियो।

राजनीतिमा आउनुअघि उनी हाँस्य कलाकारका रुपमा सक्रिय थिए, उनले टेलिभिजन कार्यक्रमहरुमा अभिनय गरेका थिए। हसाउँदै आएका जेलेन्स्कीको उम्मेदवारी पनि सुरुमा केहीका लागि उनले भन्ने गरेका चुट्किला जस्तै लागेको थियो। तर उनले आफ्नो पक्षमा जनमत बनाएर र ७० प्रतिशतभन्दा बढी मतसहित राष्ट्रपति पदमा सानदार जीत दर्ता गरे।

 

उनको राष्ट्रपति शासन ‘संकट’ कै अवस्थामा थियो। तर निरन्तर काम गरिरहेका थिए। अहिले भने जेलेन्स्की युक्रेनीलाई मात्रै होइन विश्वको ठूलो भागलाई रुसविरुद्ध एकीकृत गर्न सफल भएका छन्।

गएको बिहीबारदेखि रुसले युक्रेनमाथि सैन्य आक्रमण गरिरहेको छ। देशको सार्वभौम रक्षा र स्वतन्त्रताको युद्धमा जेलेन्स्की अग्रपंक्तिमा देखिएका छन्।

उनले त्यसका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन्। उनले बारम्बार ट्वीटरमा सेल्फी भिडियो पोस्ट गर्ने गरेका छन्। ती भिडियोहरुमा उनले युद्धको वर्तमान अवस्थाबारे जानकारी दिँदै नागरिकहरुलाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन्। यस्तै रुसले फैलाएका गलत जानकारीहरुको खण्डन गरेका छन्।

जेलेन्स्कीलाई रुसले निशानाको पहिलो सूचीमा राखेको छ। उनलाई देश छोड्ने भए अमेरिकासहितका देशबाट सहयोगको प्रस्ताव पनि आएको खबर प्रकाशित भए। तर जेलेन्स्कीले युद्ध युक्रेनमा रहेको र आफू युद्धको मैदानबाट नभाग्ने जवाफ दिए।

 

उनले रुससामु नझुक्ने भन्दै आवश्यक सामग्री सहयोग गर्न सहयोगी राष्ट्रसँग बारम्बार अपिल गर्दै आएका छन्। उनी विभिन्न देशका नेताहरुसँगको टेलिफोन वार्तामा व्यस्त हुने गरेका छन्। यस्तै बाहिर निस्किएर युद्धको मोर्चामा अग्रपंक्तिमा पनि देखिएका छन्।

उनी देशभित्र रुसविरुद्धको युद्धमा विपक्षीसहितलाई एकताको सूत्रमा बाँध्न सफल भएका छन्। यस्तै यो युद्धमा उनी अडिग भएर उभिँदा आन्तरिक विवादका कारण एकठाउँमा आउन नसकेका नेटो राष्ट्र तथा युरोप र अमेरिकालाई पनि एक ठाउँमा ल्याएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसहित उनको टिमलाई लागुऔषध दुर्व्यसनीहरुको नियो नाजी टिम भनेर युक्रेनी सैनिकलाई हतियार बिसाउन आग्रह गरेका थिए। तर जेलेन्स्कीले भिडियोमार्फत नै जवाफ दिँदै हतियार नबिसाउने र देशको रक्षा गर्न सबै प्रतिबद्ध रहेको बताए।

बिहीबार युद्ध सुरु हुनुपूर्वको सन्देशमा रुसी नागरिकलाई समेत सम्बोधन गरी युद्ध नचाहेको बताएका उनी युद्ध सुरु भएपछि योग्य कमाण्डरका रुपमा उभिएका छन्।

सुरुमा जेलेन्स्कीको नेतृत्व क्षमतालाई लिएर शंका गरिरहेका युक्रेनीहरु अहिले उनको समर्थनमा आएको र उनीमाथि विश्वास गरिरहेको समाचार वेबसाइट नोभोय भ्रेम्याकी प्रधान सम्पादक युलिया म्याकगुफीले बताएकी छन्। रुसले युद्ध सुरु गरेयता जेलेन्स्कीप्रति युक्रेनीको विश्वासमात्रै नभएर सम्मान पनि बढेको देखिएको उनले बताइन्।

जेलेन्स्कीले टेलिभिजन सिरिज ‘सर्भेन्ट अफ द पिपुल’ मा एक शिक्षकको भूमिका निर्वाह गरेका थिए। राजनीतिमा कायम रहेको भ्रष्टाचारबारे उनको आक्रोश एक विद्यार्थीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी राष्ट्रपतिका उम्मेदवारका रुपमा देखिएका हुन्छन् सो सिरिजमा। राजनीतिक जीवनमा पनि उनको प्रवेश भ्रष्टाचारविरोधी नेताकै रुपमा भएको थियो।

उनको राजनीतिक पार्टीको नाम ‘सर्भेन्ट अफ द पिपुल पार्टी’ हो। उनले देशको पूर्वी क्षेत्रमा शान्ति स्थापना गर्ने र भ्रष्टाचारविरुद्ध लाग्ने नारासहित चुनाव लडेका थिए र ७३ प्रतिशत मतसहित विजयी भएका थिए।

राष्ट्रपतिमा असीमित शक्ति हुने भए पनि चुनावमा गरेका वाचा पूर्ण रुपमा पूरा गर्न भने कठिन हुने गरेको छ। जेलेन्स्की पनि देशमा सफल भएका थिएनन्। तर रुस युद्धले एक कलाकारलाई स्वतन्त्रता रक्षा युद्धको विश्वासयोग्य कमाण्डरका रुपमा उभ्याएको छ।

युक्रेनको पूर्वी क्षेत्रमा पर्ने क्रियभ्यी रिहमा सन् १९७८ मा जन्मिएका उनी ४४ वर्षका भए। उनले किएभ नेशनल इकोनोमिक युनिभर्सिटीबाट कानुनमा स्नातक गरेका छन्। उनी २०१५ सम्म टेलिभिजन र चलचित्रहरुमा सक्रिय थिए। त्यसपछि राजनीतिक जीवनमा प्रवेश गरेका हुन्।

सामाजिक सञ्जालमा उनको लोकप्रियता पछिल्लो दिनमा निकै बढेको छ। नेपाली समयअनुसार शनिबार बिहान ट्वीटरमा उनलाई १.५ मिलियनले पछ्याइरहेका थिए। अहिले त्यो संख्या २.९ मिलियन पुगेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights