२०८१ साउन १२ गते | 27th of July 2024

ओली र एमालेले ऐतिहासिक अवसर गुमाए : रामचन्द्र पौडेल

ओली र एमालेले ऐतिहासिक अवसर गुमाए : रामचन्द्र पौडेल
Sanchar_np प्रकाशित: २०७८ फागुन १६ गते ८:३३

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले र त्यसको नेतृत्वको हैसियतमा केपी शर्मा ओलीले महत्त्वपूर्ण ऐतिहासिक अवसर गुमाएको बताएका छन् । एमसीसीबारे संसद्मा निर्णय हुँदा एमालेले वेलमा नारावाजी गर्दा राम्रो सन्देश नगएको उनको भनाइ छ । राष्ट्र विकासको मुद्दा र आफैंले संसद्मा लगेको प्रस्तावका पक्षमा नउभिएर एमालेले ऐतिहासिक अवसर गुमाएको उनको टिप्पणी छ ।

“एमालेको विरोध सभामुखका विरुद्धमा थियो । संसद्मा जारी विरोध एमसीसी सम्झौता पास नहुँदासम्म मौन बस्ने निर्णय गरेर एमसीसीका पक्षमा आफूलाई उभ्याउन सक्नुहुन्थ्यो,” पौडेलले भने, “तर, आफूले संसद्मा लगेको प्रस्ताव अर्को सरकारले पारित गर्न मिहिनेत गरेका बेला उहाँहरुले त्यसका पक्षमा उभिने नैतिक र राजनीतिक अवसर गुमाउनुभयो । यसअर्थमा उहाँहरु ऐतिहासिक रुपमा चुक्नुभयो ।”

पौडेलले एमाले कांग्रेसको मुख्य प्रतिस्पर्धी भएपनि राष्ट्रिय मुद्दामा समझदारी गर्नुपर्नेमा जोड दिए ।

“हामी त त्यसवेला (दुईवर्ष अघि ओली सरकारले एमसीसी संसदमा लैजाँदा) प्रतिपक्षमा थियौं । केपी ओलीको सरकारलाई एमसीसी सम्झौता कार्यान्वयन गर भनेर भनेका थियौं र पारित गर्न पनि सहयोग गर्छौं भनेका थियौं,” पौडेलले भने, “अहिले त उहाँले नै लगेको प्रस्ताव संसदमा अर्को सरकारले अघि बढाएको थियो । देश विकासको एजेण्डामा हामी समर्थन गर्छौं भनेर देखाउने ऐतिहासिक अवसर उहाँले गुमाउनुभयो । यो गर्न ओलीजी चुक्नुभयो ।”

२०५१ सालमा अरुण तेस्रो परियोजना कार्यान्वयन गर्न नदिएर एमालेको चरित्र बदनाम भएको थियो । अहिले एमसीसी कार्यान्वयनका क्रममा पनि दलहरुको विभाजित मत र एमसीसीविरुद्ध निर्माण गरेको जनमतले त्यही प्रवृति दोहोरिने संकेत देखिएको थियो ।

तर, सत्ता गठबन्धनबाट पाखा पर्ने र विकास विरोधीका रुपमा दर्ज हुने जोखिमपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीका पक्षमा उभिएपछि अहिले सत्तारुढ दलहरु विकासका मुद्दामा एकठाउँमा पुगेका छन् । वरिष्ठ नेता पौडेल विगतमाभन्दा एमालेले आफूलाई सुधार्दै लगेको भन्दै राष्ट्रिय मुद्दामा एमाले कांग्रेसको सहयोगिकै भूमिकामा आएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights