२०८१ वैशाख ३० गते | 12th of May 2024

निजी (संस्थागत) विद्यालयतर्फ बूढानीलकण्ठ स्कूल तृतीय स्थानमा

निजी (संस्थागत) विद्यालयतर्फ बूढानीलकण्ठ स्कूल तृतीय स्थानमा
Sanchar_np प्रकाशित: २०८० असोज २ गते ११:३७

काठमाडौँ— राष्ट्रिय स्तरमा निजी लगानीका विद्यालयतर्फ बूढानीलकण्ठ स्कुल तृतीय स्थानमा परेको छ । २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको नतिजा मूल्याङ्कनमा आधारमा बूढानीलकण्ठ स्कुल तेस्रो स्थानमा परेको हो ।

राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा गरिएको कार्यक्रममा विद्यालयलाई पुरस्कार तथा सम्मान गरिएको छ। पुरस्कार स्वरूप विद्यालयले ‘माध्यमिक विद्यालय राष्ट्रिय शिल्ड’, ध्वजा र रु १ लाख पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको हो ।

पुरस्कृत हुने सबैलाई कार्यवाहक प्रधानमन्त्री रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक कुमार राई लगायतले पुरस्कार प्रदान गरेका हुन्। उनीहरूले पुरस्कृत हुने सम्पूर्ण विद्यालयले शैक्षिक स्तर अभिवृद्धि गर्ने कार्यमा विद्यालय सदा क्रियाशील रहोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

उक्त कार्यक्रममा विद्यालयले आफ्नै शब्द, स्वर, सङ्गीत र रचनाको भएको राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गरेको थियो । नृत्यमा बौद्धिक पलायनलाई रोक्नुपर्ने र युवाहरू आफ्नै देश निर्माणमा जुट्नु पर्ने भाव प्रस्तुत गरिएको थियो ।

यस्तै, ललितपुरको प्रसादी एकेडेमीले प्रथम भई रु तीन लाख, द्वितीय भई काठमाडौँको सेन्ट जेभियर्स कलेजले रु दुई लाख पाएको छ ।

विसं २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक (सार्वजनिक) विद्यालयतर्फ सिन्धुलीको कमला मावि, दुधौलीलाई राष्ट्रिय शिल्ड, ध्वजा र नगदसहित रु तीन लाख, द्वितीय हुने सिन्धुलीकै कमला मावि, कमलामाईले रु दुई लाख र तृतीय हुने सल्यानको नारायण मावि, कुमाखलाई रु एक लाख राशिको पुरस्कार प्रदान गरिएको छ । प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा रुपन्देहीको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक, झापको लाइफलाइन अस्पताल प्रालि र मोरङको आदर्श माविले प्रतिसंस्था रु एकरएक लाखको पुरस्कार प्राप्त गरे ।

उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा आङ्गिक क्याम्पसमध्ये ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिकतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस, निजीतर्फ काठमाडौँको काठमाडौँ मोडेल कलेजले प्रतिसंस्था रु दुई लाख ५० हजार राशिको पुरस्कार पाए ।

यसै वर्षदेखि स्थापना गरिएकोे समाजकल्याण शिक्षा पुरस्कार भक्तपुरको एसओएस बालग्राम, सुर्खेतको कोपिला भ्याली सेवा समाज र काठमाडौँको माला खरेल, बाल सारथी एकेडेमीलाई प्रतिसंस्था रु तीन लाखका दरले पुरस्कार प्रदान गरिएको छ । सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *