२०८१ जेठ ८ गते | 22nd of May 2024

इलाम– २ मा एमालेका सुहाङ नेम्वाङ विजयी,घण्टीको जमानत जफत

इलाम– २ मा एमालेका सुहाङ नेम्वाङ विजयी,घण्टीको जमानत जफत
Sanchar_np प्रकाशित: २०८१ वैशाख १८ गते १०:३२

काठमाडौं। इलाम– २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् ।

दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको कान्छा छोरासमेत रहेका सुहाङले शानदार मतका साथ विजयी हुँदै बुवाको विरासत कायम राखेका छन् । यहाँ २०५६ देखि सुवासले निरन्तर चुनाव जित्दै आएका थिए ।

नेकपा एमाले उपाध्यक्ष सांसद संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । उनले ५ हजार ५० भोटमात्र ल्याए ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।

कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *