जोडिनुहोस
  • होमपेज
  • मापसे गर्न छाड्नेलाई नगदसहित सम्मान

मापसे गर्न छाड्नेलाई नगदसहित सम्मान

खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ।

सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन (मापसे) गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही पाँच हजार पाँच सयका साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो।

अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा विकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्साहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरूलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिए।

‘अत्यधिक मात्रामा मादक पदार्थ सेवनले समाजमा झैझगडा हुनाका साथै परिवारसमेत विखण्डन हुने गरेका धेरै घटनाहरू छन्। त्यसलाई न्यूनीकरण गर्दै उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान अभियान थालेका छौँ,’ उनले भने, ‘पहिलो चरणमा सहकारीमा आबद्ध शेयर सदस्यबीचमा यो कार्यक्रम लागू गर्छौं। त्यसपछि क्रमशः गाउँटोलका अन्य घरमा समेत अभियानकै रुपमा कार्यक्रम लैजाने योजना छ।’

होराखाका स्थानीय ३० जना युवाको सक्रियतामा २०६५ सालमा स्थापना गरिएको कृषि सहकारी संस्थाले सुरु गरेको मादक पदार्थ विसर्जन अभियान ग्रामीण समाजका लागि प्रभावकारी हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीय एवं नेकपा माओवादी केन्द्रका युवानेता अमर श्रेष्ठले बताए।

सहकारीले दसैँ, तिहार तथा छठ पर्वका अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले मापसे गर्न छाड्ने तीनजना सदस्यलाई खादा र प्रमाणपत्रसहित अबिर लगाइदिएर सम्मान गरे।

बेरोजगार युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित ३० जना होराखा निवासी शेयर सदस्यहरुले सङ्कलन गरेको ३० हजार रुपैयाँबाट सुरु गरिएको सहकारी संस्थाको कुल पुँजी अहिले १० लाख पुगेको सहकारीका सदस्यसचिव एवं प्रबन्धक भक्तबहादुर दाहालले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका