जोडिनुहोस

समाचार

मकै बेचेर जीवन निर्वाह

  • Sanchar NP
  • शनिबार, बैशाख ५, २०८३
मकै बेचेर जीवन निर्वाह

सुनसरी। इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ। दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन्।

राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछिन्। दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त देखिन्छिन्।

उनले पोलेको सानो मकै घोगा २० र ठूलो ४० रुपैयाँसम्ममा बिक्री गर्दै आउएकी छन्। उनले भनिन्, ’विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु।’

दिनमा मकै बेचेर एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म कमाई हुने गरेको राजवंशीले बताइन्। ’महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाई हुन्छ,’ उनले भनिन्।

इटहरी–२ की पार्वती चौधरी तीन वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छन्। उनले भनिन्, ’बेमौसममा भने काँचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ। तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु।’

मकै प्रतिघोगा १० देखि १५ रुपैयाँमा खरिद गरेर २० देखि ३५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको चौधरीले बताइन्। फुर्सदको समयमा उनले बिहान जङ्गल गएर दाउरा सङ्कलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन्।

उनले भनिन्, ’बिहान दाउरा खोज्न जान्छु, जङ्गलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु। बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु। महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाइ हुन्छ, यसैबाट घरखर्च चलाउने गरेकी छु।’

इटहरी–६ की सङ्गीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको बताइन्। उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छन्। मण्डलले भनिन्, ’अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ।’

महिनामा २० हजार रुपैयाँसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनले बताइन्। इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरू धेरै भेटिन्छन्।

पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन्। उनीहरूको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका