जोडिनुहोस
  • होमपेज
  • सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको प्रतिकारपछि फिर्ता

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको प्रतिकारपछि फिर्ता

तर, भारतीय सुरक्षाकर्मी नेपाल छिरेको थाहा पाएपछि स्थानीयले घेरा हालेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)लाई खबर गरेका थिए। केहीबेरमै भारतीय हतियारधारी सुरक्षाकर्मीलाई सशस्त्रले नियन्त्रणमा लिएर भारततिरै पठाइदिएको हो।

सशस्त्रले नियन्त्रणमा लिएपछि भने भारतीय सुरक्षाकर्मीहरूले आफूहरू सशस्त्र वनरक्षक भएको र गस्ती गर्ने क्रममा बाटो भुलेर नेपाल तर्फ आउन पुगेको भन्दै उम्किएका थिए। सामान्य केरकारपछि प्रहरीले उनीहरूलाई भारततिरै पठाइदिएको छ। भारतीय सुरक्षाकर्मीहरू हतियारसहित नेपाली बस्तीमा छिरेपछि सुस्ताबासी त्रसित बनेका छन्। शुक्रबार दिउँसो साढे ३ बजे बिआर २२ बिजे ४४१६ नम्बरको जिपमा उनीहरु आएका थिए ।

सुस्ताका स्थानीय बासिन्दाका अनुसार उनीहरु हतियारसहित गाडीमा ५ जना आएका थिए। भारतीय भूभाग हुँदै बिना अनुमति सोझै हतियारसहित सुस्ता आएका थिए। यसरी गैरकानुनी रुपमा प्रवेश गर्दा नेपाली सुरक्षाकर्मीहरु भने बेखबर बनेका थिए। स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएपछि मात्रै प्रहरी र सशस्त्रले थाहा पाएका थिए। भारतीय सुरक्षाकर्मी छिरेको देखेपछि सुस्ताका स्थानीयले नाराबाजी गरेका थिए।

स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीहरु सुस्ताका नेपाली नागरिक दुखी यादव र हिरामन तुरहालाई पक्राउ गर्न आएको तर स्थानीयले प्रतिकार गरेपछि उनीहरुको योजना विफल भएको थियो। सुस्तामा अरु बेला पनि भारतीय सशस्त्र सीमा बललगायत सुरक्षाकर्मीबाट लुटिने, कुटिने, दुर्व्यवहारजस्ता घटना हुँदै आएका छन्।

सुस्तावासीलाई सीमा हुँदै आउजाउ गर्दा चेकजाँचका नाममा दुःख दिने गरेको भन्दै विरोध हुने गरेको छ। यसरी विरोध गर्नेहरुलाई भारतीय सुरक्षाकर्मीले दुर्व्यवहार गर्ने गरेका छन्।

सुस्ताबासीलाई समान्य किनमेलकालागि पनि भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ। दैनिक घरायसी सामान किनमेल गर्न जाँदापनि भारतीय सुरक्षाकर्मीले हरेक पटक हुने जाचमा दुःख दिने गरेका एक स्थानीयले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका