जोडिनुहोस
  • होमपेज
  • सरकारले मर्यादित महिनावारीलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छः पार्वत गुरुङ

सरकारले मर्यादित महिनावारीलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छः पार्वत गुरुङ

 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारीको विषयलाई तीनै तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

छैटौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा राधा पौडेल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक समानताका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र मर्यादित महिनावारी नीति संवादमा पूर्वमन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको विभेदको अन्त्य गर्नुपर्ने र महिनावारीलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उनले मर्यादित महिनावारी निर्देशिका बनाउनका लागि मस्यौदा तयार गर्नुका साथै मर्यादित महिनावारीको देश बनाउन अभियान नै सञ्चालन गरेका थिए ।

‘महिलामाथि कुनै पनि प्रकारको विभेद हुनु हुँदैन, बालविवाह रोकिनुपर्छ, महिनावारीका नाममा हुने हिंसा रोकिनुपर्छ’, उनले भने, ‘तीनै तहका सरकारले महिनावारीका नाममा कुनै पनि प्रकरणको विभेद हुन हुँदैन भनेर अभियान नै सञ्चालन गर्नुपर्छ ।’

पूर्वमन्त्री गुरुङ विभेदरहित मुलुक बनाउनका लागि सरकार, राजनीतिक र सामाजिक सङ्घसंस्था सबैले ध्यान दिनुपर्ने र मानिसको चेतनस्तरमा परिवर्तन ल्याउन सबैले पहल गर्नुपर्नेमा जोड दिए । २१औँ शताब्दीमा आएर यस्ता खालका विभेदलाई जरैदेखि उखेलेर निर्मूल गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रियसभाअन्तर्गत विधायन समितिका सभापति तुलसाकुमारी दाहालले मर्यादित महिनावारीको विषयलाई कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताइन् ।

सभापति दाहालले २०७४ सालमा बनेको मर्यादित महिनावारी निर्देशिकाको मस्यौदाबारेमा आफूले थप जानकारी लिने र कानुन बनाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले प्राकृतिक रूपमा हुने महिनावारीलाई कुनै पाप, धर्म, जात वा भूगोल कुनैमा पनि हिसाबले विभेद गर्न नहुनेमा जोड दिइन् ।

राधा पौडेल फाउन्डेसनका संस्थापक अध्यक्ष डा राधा पौडेलले विश्वभरि नै महिनावारीका नाममा महिलाले कुनै न कुनै प्रकारको विभेद सहनुपरेको उल्लेख गर्दै विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइन् । महिनावारीका नाममा कुनै पनि प्रकारण विभेद गर्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा डा राधा पौडेलको शब्द र समीक्षा अधिकारीको स्वरमा ‘मेरो शरीर मेरो अधिकार हुन्छ, अनुमतिबिना छुन खबरदारी छ’ बोलको गीतको सार्वजनिक गरिएको थियो ।

त्यस्तै, ‘सृष्टिको रगतको गाथा–२’ को सार्वजनिक गरिएको थियो । आज डिसेम्बर ८ विश्वभरि नै अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका