
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताएका छन् ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनमा सरकारले बनाएको कार्ययोजना पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको उनको स्विकारोक्ति छ ।
उनले हवाई यातायात सहज बनाउनका लागि सरकारले बनाएको कार्ययोजनाको समिक्षा गर्दै मन्त्रालय अन्तसम्बन्धित निकायहरुलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने बताए । उनले देशभरको हवाई यातायात सञ्चालनको लागि भएका कमि कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । ‘विमानस्थल सञ्चलानका सन्दर्भमा थुप्रै चुनौतिका बाबजुद पनि सरकारले पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा कार्ययोजना बनायो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्ययोजनाअनुसार कामहरु भएका छन् भने कतिपय निकायहरुबाट भएको देखिँदैन । हुन बाँकी छन् । अब हामीले कार्यायोजना कार्यान्वयनको समिक्षा गर्दै सबै मन्त्रालय अन्तरसम्बन्धित निकायहरुलाई कार्ययोजनालाई अक्षरसः पालना गर्न र त्यहाँको हवाई यातायात सञ्चालनको लागि भएका कमी,कमजोरीहरुलाई सच्याउने दिशामा हामी अगाडि बढ्छौं,’ उनले भने ।
उनले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरुको सामना गर्नुपर्ने भइरहेको उल्लेख गर्दै उनले यस्तो प्रवन्ध गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए। ‘एउटा निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल चढ्न पाउने प्रवन्धलाई व्यवस्था गरियो भने त्यहाँ अरु ठूलो जोखिमको स्थिति रहन्न’, उनले भने ।
उनले निजी क्षेत्रले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर संचालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताए । उनले निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरुलाई मर्जर गर्दै लैजानुपर्ने बताए । उनले हवाई यातायातलाई पर्यटन व्यवसायसँग जोड्दै अघि बढ्नुपर्ने बताए।





























