
काठमाडौँ । मेयर बालेन शाहले आफु कर्णाली जाने घोषणा गरेका छन्। कर्णालीका युवाहरूसँग भएको छलफलका क्रममा बालेन शाहले मिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आफू दुवैजना सँगै कर्णाली जाने र यदि एकसाथ जान नसके पनि आफू एक्लै भए पनि अवश्य कर्णाली जाने बताएका छन्।
“कर्णाली जति सुन्दर छ, समस्या उति नै धेरै छन्,” बालेन शाहले भने। उनले कर्णालीको सुन्दरता देखाउन धेरै मानिस गए पनि त्यहाँका समस्या समाधान गर्न आजसम्म कुनै पनि जनप्रतिनिधि गम्भीर रूपमा नलागेको आरोप लगाए।
राजनीतिक द्वन्द्व र पार्टीगत लडाइँका कारण कर्णालीमा हुन नसकेका विकासका काम अब आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत जनाए।
माघ ४ गते मेयर पदबाट राजीनामा दिने घोषणा गरिसकेका बालेन शाहले झापा र जनकपुरका कार्यक्रम तय भइसकेको र त्यसपछि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने प्रयास गर्ने बताएका छन्। जसमध्ये कर्णालीलाई विशेष प्राथमिकतामा राख्ने पनि स्पष्ट पारेका छन्।









































