देश
भारतीय राजदूतावासका सचिव र गाउपालिका अध्यक्षद्धारा संयुक्त रुपमा अछाममा विद्यालय भवनको शिलान्यास

नेपालको सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको मेल्लेख गाउँपालिका–४ मा रहेको श्री बासुकी माध्यमिक विद्यालयको भवन निर्माणका लागि आज मिति २०८३ वैशाख २९ गते भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष श्री ज्वाला सिं साउँदले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ । भारत सरकारको आर्थिक सहयोग करिब नेरु. ३.८ करोड लागतमा यस विद्यालय भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना मेल्लेख गाउँपालिका, अछाममार्फत कार्यान्वयन गरिनेछ । अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । वहाँहरुले नयाँ संरचनाले मेल्लेख गाउँपालिका, अछामका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।



































