
बाँकेका ४१ वर्षीय प्रेम थारूले चोरीकै रकमबाट जग्गा, घर र गाडी समेत जोडेको खुलेको छ। निजलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले केही समयअघि पक्राउ गरेको थियो। उनीविरूद्ध अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत जिल्ला अदालतमा दर्ता भएको छ। थारू एक नामले मात्रै नभई अन्य विभिन्न नामले पनि परिचित छन्। उनले आफूलाई सुप्रिम विकास चौधरी र सौरभ चौधरीको नामले समेत चिनाउँथे। उनीमाथि पछिल्लो समय काठमाडौंको बौद्धस्थित पाँच तले घरको तेस्रो तलामा चोरी गरेको आरोप छ। गत माघ २० गते दिउँसो उनले एक करोड २१ लाख ६ हजार ८ सय रुपैयाँ मूल्य बराबरका गरगहना चोरी गरेको आरोप छ। उनलाई प्रहरीले नागार्जुन रामकोटबाट गोली चलाएर नियन्त्रणमा लिएको थियो। उनको दाहिने खुट्टामा गोली लागेको थियो। प्रहरीले उनलाई माघ २१ गते नियन्त्रणमा लिएको थियो। प्रेम थारूले करोडौं रकमको चोरी गरेको खुलेपछि प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान समेत अघि बढाएको थियो। अनुसन्धानकै लागि प्रहरीको टोली बाँकेको राप्ती सोनारी-३ बेलासपुरस्थित घरमा समेत पुग्यो। त्यहाँबाट प्रहरीले विभिन्न विदेशी मुद्रा समेत बरामद गरेको थियो। त्यसैगरी बाँकेकै कोहलपुरस्थित चपरगौडीस्थित अर्को घरमा पनि प्रहरी पुगेको थियो। त्यहाँ उनको साढे ३ तले पक्की घर थियो। प्रेमले लामो समयदेखि काठमाडौंका घरहरूमा कोही नभएको मौका छोपेर चोरी गर्ने गरेको स्वीकारेका छन्। उनले यस्ता चोरीका सामानहरु भारतसँग जोडिएका सीमानाकाहरूमा बेच्ने गरेका थिए।उनले अहिलेसम्म कति चोरी गरिसकेका छन् भन्ने आफैलाई थाहा नभएको पनि बयान दिएका छन्। उनले यसरी बयानकै क्रममा चोरिएका सामानबाटै साढे ३ तलाको घर र झन्डै करोड बराबरको गाडी किनेको बताएका छन्। चोरीको रकमबाट उनले कोहलपुरमा ४० लाख बराबरको २ कठ्ठा जग्गा किनेर घर बनाएको उनको भनाइ छ। ‘हालसम्म यति नै रकम प्राप्त गरेको भन्ने मलाई यकिन भएन। चोरीका सुनचाँदीका गरगहना लगायत धनमालहरू बिक्री वितरण गरी प्राप्त रकमबाट बाँके कोहलपुर नगरपालिका-११ स्थित आज भन्दा करिब ५-७ वर्ष पहिले जम्मा ४० लाख रुपैयाँमा २ कठ्ठा जग्गा खरिद गरी सोही जग्गामा साढे ३ तले पक्की घर बनाएको छु। आज भन्दा करिब साढे ५ वर्ष पहिले ९८ लाखमा टोयोटा हाइलक्स गाडी खरिद गरेको र उक्त गाडीलाई गत पुस १८ गते बुटवलका एक जना व्यक्तिलाई ५५ लाखमा बिक्री समेत गरेको बताएका छन् । साथै । बाँकेमै उनको नाममा विभिन्न ठाउँमा जग्गा समेत देखिएको छ। उनले आफ्नो नाममा रहेका केही जग्गा पूर्ख्यौली भएको र त्यसबाहेक भने सबै चोरीकै भएको बताएका हुन्। अहिले उनको एउटा बैंकमा १५ लाख , अर्को बैंकमा साढे १ लाख रुपैयाँ बचत भएको देखिएको छ। प्रहरीले उनको बैंक खातामा भएको रकम, सम्पत्ति र गाडी जफत गर्न समेत माग गरेको छ।






























