
नवलपरासी। राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको बिहीबार उद्घाटन गरेका छन्।
सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो। भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ।
पुल बन्नुअघि स्थानीय भारतीय भूमि भएर तथा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। डुङ्गा दुर्घटना हुँदा मानवीय क्षतिसमेत ब्यहोर्नुपरेको थियो। एक हजार पाँच सय ७१ मिटर लामो उक्त झोलुङ्गे पुल २० करोड ९३ लाखमा निर्माण गरिएको हो।
सो पुल २०७२ सालमा निर्माण सम्झौता भएर निर्माण सुरु भएको हो। सम्झौता भएको ८ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएको हो। झोलुङ्गे पुल बनेसँगै नवलपरासीको सुस्ताबस्तीमा विद्युत् पनि पुगेको छ।
यसअघि नारायणी नदीका कारण बिजुलीका खम्बा राख्ने समस्याका कारण त्यहाँ विद्युत् पुग्न सकेको थिएन। सुस्ता गाउँपालिका–५ नारायणी नदीपारिको सुस्ताबस्तीमा तीन सय ५० परिवारको बसोबास छ।
उनीहरुमध्ये २५ प्रतिशतभन्दा बढीसँग नागरिकता र लालपुर्जा नभएको सुस्ता–५ का सदस्य आदम खाँले बताए। वर्षौंदेखि बसोबास गर्दै आएपनि उनीहरुसँग नागरिकता र लालपुर्जा नहुँदा विद्युत् उपभोगबाट वञ्चित रहँदै आएका वडा सदस्य खाँले बताए।






























