
करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ । समूहका पूर्वअध्यक्ष महेन्द्र थारुले केही समययता आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए ।
पूर्वअध्यक्ष थारुले ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटनसम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना भए पनि लगानीका लागि स्रोत नहुँदा सो कार्य हुन नसकेको बताए ।
वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको र त्यसका लागि हरेक वर्ष केही न केही बजेट छुट्याए पनि पर्याप्त नभएको बताए । पालिकाले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको र थप पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ ।







































