जोडिनुहोस
  • होमपेज
  • भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल उतै फिर्ता

भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल उतै फिर्ता

काठमाडौं। भारतबाट आयात गरिएको ८५ हजार किलो चामल गुणस्तरहीन पाइएपछि भन्सार नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट मगाएको ८५ हजार किलो चामल मापदण्डअनुसार नभएकाले उतै फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बुधबार जारी गरेको प्रेस नोटअनुसार नेपालगन्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्यधिक भेटिएको थियो ।

नेपाल सरकारले चामल आयातका लागि तोकेको अनिवार्य मापदण्डबमोजिम न्यूनस्तर पाइएकोले निर्यात गर्ने देशमै फिर्ता गरेको विभागले जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरू काँकडभित्ता, रानी विराटनगर, जलेश्‍वर, वीरगञ्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गड्डाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका प्रयोगशालाबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरूको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रूपमा गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका