जोडिनुहोस
  • होमपेज
  • कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

पर्वत। कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक १२ लाख बढी आम्दानी गर्दै आएकी छन् । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म सञ्चालन गरेकी क्षेत्रीले माछा, कुखुरा, बाख्रा तथा हाँसपालन गर्दै आएकी हुन् ।

दश रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछा पालन गर्दै आएकी क्षेत्रीले वार्षिक १५ हजार किलोग्राम भन्दाबढी माछा बिक्री गर्ने गरेको बताइन् । माछाका साथै उनको फार्ममा गाईभैँसीसहित, स्थानीय जातका कुखुरा, बाख्रा तथा हाँस पनि छन् । दैनिक ३० देखि ४० लिटर दूध बिक्री गर्दै आएको उनले बताइन् ।

२५ लाख लगानी गरेर सात वर्षदेखि सञ्चालनमा आएको उक्त फार्मबाट सबै खर्च कटाएर वार्षिक १२ लाखसम्म आम्दानी हुने गरेकाको क्षेत्रीले जानकारी दिइन् । फार्ममा उत्पादित माछा, दूध, बाख्रा तथा बोका, कुखुरा, हाँस बिक्री गर्न बजार जानु नपर्ने भन्दै मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड नजिकै फार्म भएकाले ग्राहक÷व्यवसायी घरमा आएर खरिद गर्ने गरेका उनले बताइन् ।

‘सुरुमा लगानी धेरै गरेँ, व्यवसाय सङ्कटमा पर्छ कि भन्ने लागेको थियो, पछि उत्पादित सबै वस्तु सहज रुपमा घरबाटै बिक्री हुन थालेपछि लगानी र व्यवसाय थप गर्दै गएकी हुँ’, क्षेत्रीले भनिन् । कृषिबाट भएको आम्दानीले दुई छोरालाई शिक्षाका लागि अमेरिका पठाएको बताउँदै उनले श्रीमान् पनि रोजगारीको सिलसिलामा विदेश नै रहेकके जानकारी दिइन् ।

क्षेत्रीले फार्ममा तीन जनालाई रोजगारी दिएको जानकारी दिइन् । ‘पहिलेदेखि आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्ने योजना थियो’, उनले भनिन्, ‘यसअघि व्यावसायिक बङ्गुरपालनसमेत गरेँ, त्यसअभि स्थानीय मदिरा उत्पादन गरेकी थिएँ । पछि कृषि क्षेत्रमा आबद्ध भएकी हुँ ।’

आम्दानीका लागि महिलालाई पुरुषको सहयोग चाहिन्छ भन्ने कुरालाई चुनौती दिँदै आफू सफल महिला उद्यमी बनेको क्षेत्रीको भनाइ छ । अधिकांश समय फार्ममा व्यस्त देखिने क्षेत्री राजनीतिमासमेत सक्रिय छन् ।

नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको महिला विभाग प्रमुखसमेत रहेकी क्षेत्री, महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा पनि काम गर्दै आएकी छन् । ‘पार्टीको कार्यक्रम परेमा अन्य जिल्लामा समेत जाने गरेकी छु । कार्यक्रम नपर्दा फार्मको रेखदेखमा समय बिताउँछु’, उनले भनिन् ।

आँट, समयको व्यवस्थापन र मेहनतका साथ आफ्नो कामलाई निरन्तरता दिने हो भने सफल भइने क्षेत्रीको बुझाइ छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलगायत संस्थाबाट प्राविधिक तथा अन्य तालिम र सहयोग प्राप्त गरेको उनले जानकारी दिइन् ।

स्वदेशमा रहेर व्यावसायिक रुपमा कृषि पेसा गर्नेहरूलाई तीनै तहका सरकारले अनुदान, बजारीकरण र प्राविधिक सहयोग, तालिमलगायत व्यवस्थापन गरेका युवा पुस्ताको बढ्दो विदेश पलायन रोक्न सकिने क्षेत्रीले विश्वास व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका