जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपति निर्वाचनः ह्यारिस र ट्रम्पबीच इतिहासकै कडा टक्कर

अमेरिकी राष्ट्रपति निर्वाचनः ह्यारिस र ट्रम्पबीच इतिहासकै कडा टक्कर

काठमाडौं। अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार हुने चुनावमा इतिहासकै कडा टक्कर हुने देखिएको छ। पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केहीअघि देखिएकी छन्।

अमेरिकाकै पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन प्राप्त गरेकी छन्। ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ रहेको पछिल्लो चुनावी सर्वेक्षणहरूले देखाएका छन्। ५ प्रतिशत मतदाता भने हालसम्म पनि अनिर्णित देखिएका छन्।

अमेरिकाको राष्ट्रपतीय चुनाव ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचकमण्डल’मा आधारित छ। अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ‘इलेक्टोरल कलेज मत’ निर्धारण गरिएको हुन्छ। राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये कम्तीमा २ सय ७० आवश्यक पर्छ।

५० राज्यमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ। ५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गर्छन्। त्यस्ता राज्यहरू ‘ब्लू’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन्। डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लू’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेट भनिन्छ।

तर हरेक निर्वाचनमा केही राज्यमा कुन उम्मेदवार विजयी हुन्छन् भन्ने चुनावी सर्वेक्षणका आधारमा मात्र प्रष्ट हुँदैन। समग्र निर्वाचनको परिणाम निर्धारण गर्ने त्यस्ता राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ भनिन्छ। यसवर्षको चुनावमा ह्यारिस र ट्रम्पबीच चर्को प्रतिस्पर्धा रहेका ७ राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ मानिएको छ। यो सूचीमा पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा छन्।

ह्यारिसले क्यालिफोर्नियाको ५४, न्युयोर्कको २८ र इलिनोइ राज्यको १९ सहित २ सय २६ इलेक्टोरल मत ल्याउने देखिएको छ। राष्ट्रपतिमा निर्वाचित हुन उनलाई कम्तीमा अरू ४४ इलेक्टोरल मत आवश्यक पर्छ।

त्यस्तै, ट्रम्पले टेक्सासको ४०, फ्लोरिडाको ३० र ओहायो राज्यको १७ सहित कम्तीमा २ सय १९ इलेक्टोरल मत ल्याउने सर्वेक्षणहरूले देखाएका छन्। यसका आधारमा राष्ट्रपतिमा निर्वाचित हुन ट्रम्पलाई थप ५१ इलेक्टोरल मत चाहिन्छ।

पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलाइनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभादामा ६ गरी ‘ब्याटलग्राउन्ड स्टेट’ को कूल इलेक्टोरल मत ९३ छ। यीमध्ये मिसिगन र विस्कन्सिनबाहेक अन्य पाँच राज्यमा ट्रम्प अगाडि देखिएका छन्।

त्यस्तै, मंगलबारकै चुनावबाट संघीय संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका सबै ४ सय ३५ सदस्य र एकसय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका