जोडिनुहोस
  • होमपेज
  • पाकापुस्ताको भरमा ‘मारुनी नाच’

समाचार

पाकापुस्ताको भरमा ‘मारुनी नाच’

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शुक्रबार, साउन १५, २०८३
पाकापुस्ताको भरमा ‘मारुनी नाच’

प्यूठान। प्यूठान नगरपालिका–६ माझकोट फुकेथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे खगे पुन वृद्धावस्थामा पनि युवा जस्तै जोसिलो पारामा मारुनी देखाउछन् । उनको मारुनीमा विधिपूर्वक गाउने मोह युवापूताको जस्तै छ । गाउँका युवालाई साथमा लिएर माझकोटसहित प्यूठानका सरायँ मेलाहरूमा मारुनी देखाउन पुन अहिले पनि पुग्छन् ।

पुनले आफूले जान्ने भएदेखि बाबुबाजेका साथमा मारुनी देखाउन थालेको बताए । गाउँमा अहिले फुर्केथुम मारुनी नाच तथा भैलो समूह गठन गरेर गुरुमुखेको रुपमा मारुनी प्रदर्शन गरिन्छ । पूजाआजा, गाउँमा देउसीभैलोसँगै, जिल्लामा हुने सरायँ मेला, भाइटिकाको दिन हुने पुरभुरे (जेठो छोरो जन्मिदा मगर समुदायमा तिहारमा गरिने छैँठीको प्रकार), छैँठी, आमन्त्रण गरिएका देवालीहरूमा मारुनी प्रदर्शन गर्ने गरेको पुनले जानकारी दिए ।

‘मारुनी पछिल्लो समय सङ्कटमा पर्दै गएको छ, युवापुस्ता वैदेशिक रोजगारी, पेसा व्यवसाय तथा शिक्षाको सिलसिलामा गाउँ बाहिर तथा विदेश जाने गरेकाले गाउन र नाच्न रहर गर्ने युवा भेटिँदैन’, पुनले भने ‘केहीलाई साथमा लिएर सिकाउने गरेका छौँ तर उनीहरू पनि कतिबेला विदेशिने हुन् ठेगान छैन ।

गाउँबाट टाढाटाढा नाच देखाउन जान यातायात, आभूषणको पर्याप्त व्यवस्था भए पनि युवा शक्ति नहुँदा समस्या भएको उनको भनाइ छ । पहिला आमा, दिदीबहिनीका सारी, चोलोलगायत वेशभूषा, गरगहना लगाएर नाच्ने गरिएको उनले अनुभव सुनाए ।

प्यूठान–६ माझकोट निवासी शिक्षकसमेत रहेका मादले पोषण पुनले सिङ्गारु (महिला वेष), पूरसुङ्गे (पुरुष) एक÷एक र मादले दुई गरी चार जनाले नृत्य गर्ने बताए । माझकोटमा दसैँको अष्टमीमा बृद्धिकोटमा समुद्र बाँध्ने (मारुनी सुरुको प्रथम चरणमा देवदेवीको नाम पुकारी नाच्दै मारुनी सुरु गरिने), दसैँको पूर्णिमामा प्यूठान–७ बखडी, डल्लेमा मौलो मान्नका लागि ल्याइने, तिहारमा देउसीभैलो, पूजा, पुरभुरे, देवालीमा मारुनी प्रदशर्नी गर्न लगेर पुस मसान्तभित्र मारुनी विसर्जन गर्ने प्रचलन रहेको पुनले जानकारी दिए ।

उनका अनुसार मारुनीमा कृष्ण चरित्र, रामायण, महाभारत, मायाप्रेमका कथा, नारीहरूको वेदना, खुसियाली, बालापन, समय अनुसारका गीत (भाले बास्ने, घाम झल्कने, दिउँसो, साँझ, राति, मध्यराति, बिहानी समय), सन्यासीका कुरालाई मारुनीको तालमा गाइन्छ ।

‘सबै गीतहरू गाउने हो भने एक महिना लाग्छ, लिपिबद्ध छैनन्, सम्झीसम्झी गाउनु पर्छ । युवापुस्तामा सिक्ने समय र चाहना नै छैन’, पुनले भने ‘खर्चिलो, बढी समय लाग्ने हुँदा नयाँ पुस्ताले चासो दिँदैनन् । परम्पराले अहिलेसम्म निरन्तरता पाउुको कारण पुरानै पुस्ता नै हो ।’

मारुनीमा सोरठी, झुमरा, चुड्का, बाटाताललगायत फरकफरक तालका नृत्य प्रस्तुत हुन्छन् । पुनका अनुसार मारुनी विसर्जन गरेपछि मादल, खाँकर, मुजुरा, बाँसुरी एक वर्ष बजाउन मिल्दैन् । ‘गीत निकाल्ने मारुनीको मुख्यलाई प्यूठानमा गुरमुखे भनिन्छ । ‘मारुनी’ नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । वेशभूषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्छ’ उनले भने ।

पहिला पूजा, न्वरान, छैँठी, देवाली, मेलामा अनिवार्यजसो मारुनी नाचिने गरेकामा पछिल्ला वर्षहरूमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइने गरिएको मादले पुनले बताए । ठूला सांस्कृतिक कार्यक्रम, महोत्सवमा संस्कृति जोगाउन पनि मारुनी नाच्ने गरिएको उनको भनाइ छ ।

समूहमा नाच्ने व्यक्तिले गुनियो, चोली, पटुका, गरगहना, घलेक, घाँगर, घाँगरी, मुजेत्रो लगाउने चलन रहेको मारुनीका जानकार लीला पुनले बताए । मगर संस्कृति संरक्षण मञ्च गठन गरी विसं २०७८ देखि मारुनी नाच प्रदर्शनी गरेका उनले युवापुस्ताले चासो नदिँदा यसवर्ष मारुनी देखाउन नसकिएको उल्लेख गरे ।

‘तिहारको लक्ष्मी पूजाका दिनदेखि सुरु गरेर माघी पर्वलाई बिदा गर्दै मारुनी विसर्जन गर्ने चलन थियो । अहिले लामो समयसम्म खट्ने युवा भेटिएनन्’, पुनले भने ‘गत वर्ष नाचेका मारुनी यस वर्ष शारीरिक समस्याका कारण नाच्न सक्नुभएन ।’ पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति नहुँदा कहिलेकाही मेला, महोत्सव तथा विविध कार्यक्रममा मात्रै सीमित बनेको उनले बताए । परम्परागत संस्कृति संरक्षणमा सरोकार भएका निकायले ध्यान नदिँदा जिल्लाका अधिकांश स्थानमा मारुनी नाच लोप हुँदै गएको जानकारहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका