
काठमाडौं। अजरबैजानको बाकु सहरमा जारी जलवायु परिवर्तनसम्बन्धि राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९ औं सम्मेलन कोप–२९ मा आज पनि हिमाल सुरक्षाबारे विविध कार्यक्रम हुँदैछ । आजका दुईवटा विशेष सत्रमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनु हुनेछ ।
यसअघि हिजो कोप–२९ मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई हिजो सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिर्वतनको मारबाट पृथ्वी नै संकटमा रहेको बताउँदै गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोत–साधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै मानव सभ्यताको बचाउमा उपयोग गर्न आव्हान गरेका छन् ।
उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आव्हान पनि गरे । उनले पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले तल्लो तटीय मुलुकलाई पनि संकटमा पुर्याउँछ भन्ने विश्वले बिर्सन नहुनेमा जोड दिए।
नेपालले प्राकृतिक स्रोतसाधनको उपयोगमा अनुशासन कायम राख्दै कार्बन उत्सर्जन न्यूनीकरणको महत्वाकांक्षी एनडीसी योजना कार्यान्वयन गरिरहेको, वन क्षेत्र बढाएको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले अन्यायमा परेका नेपालजस्ता देशलाई प्रदुषकले प्रदुषण वापत क्षतिपुर्ति तिर्नुपर्ने माग पनि गरे । जलवायु वित्त कोषहरुमा घोषणा गरिएको रकम अपुग भएको र त्यो रकम पनि जम्मा हुन नसकेको भन्दै उनले जलवायु जोखिममा परेका विकाशील राष्ट्रलाई दिने गरी स्थापना भएको हानी नोक्सानी कोषलाई छिटो सञ्चालनमा ल्याउन आव्हान गरे ।
सम्मेलनस्थल बाकुमै दक्षिण एशियाली मुलुकका वन तथा वातावरणमन्त्रीहरुको पनि बैठक भएको थियो ।





























