जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय कार्यालयले भन्यो– शेखर पक्षको कार्यक्रममा सहभागी नहुनू

कांग्रेस केन्द्रीय कार्यालयले भन्यो– शेखर पक्षको कार्यक्रममा सहभागी नहुनू

मोरङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले मोरङमा आयोजना गरेको कार्यक्रममा सहभागी नहुन कांग्रेस केन्द्रीय कार्यालयले पत्राचार गरेको छ । सोमबार जिल्ला समितिलाई मंसिर २२ गते अगाडि पार्टीको कुनै आधिकारिक कार्यक्रम नभएको जनाएको हो ।

‘कोशी प्रदेशका सबै जिल्ला कार्यसमितिका नाममा पत्र पठाइ मंसिर २२ गते पूर्वकोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्नेरनपर्ने स्पष्टताका लागि जिल्ला सभापतिहरूबाट केन्द्रमा सम्पर्क गरकोले, मंसिर २२ पूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको’ केन्द्रीय कार्यालयको पत्रमा उल्लेख छ ।

मंगलबार (भोलि) विराटनगरको जैन भवनमा शेखर पक्षले कोशी प्रदेशका १४ वटै जिल्लाका १३७ पालिकाका सभापतिहरूको भेला आयोजना गर्दै छ । यस सम्बन्धमा मंसिर २२ गते आयोजित कोशी प्रदेश समितिको भेला मात्र आधिकारिक भएको व्यहोराको पत्र कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई पठाएका छन् । प्रदेश भेलामा पार्टी सभापति शेरबहादुर देउवा प्रमुख अतिथि छन् ।

शेखर पक्षको कार्यक्रमको आयोजक मोरङका १७ वटा पालिका रहेको उल्लेख छ । यसको संयोजन गरिरहेका नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले विधानमाथि छलफल गर्न र कार्यकर्ताबीचमा हार्दिकताको भावनालाई दरिलो बनाउन आयोजित कार्यक्रम नरोकिने बताएका छन् ।

उनले भने ‘विधानत हामीले कार्यक्रम गर्न नपाउने भन्ने छैन । केन्द्रबाट रोक्न विभिन्न नेताले टेलिफोन गरेर दबाब दिनु भएको छ । तर, हामी कार्यक्रम गर्छौँ ।’ कार्यक्रममा सहभागी हुन नेता कोइराला विराटनगर आइसकेका छन् ।

केन्द्रले भने कांग्रेस विधानअनुरुप सबै तहको सम्मेलन गर्ने प्रक्रिया आरम्भ भइसकेको र पार्टीको जुन तहको कार्यसमिति हो, त्यसले त्यही तहभित्र कार्यक्रम आयोजना, समन्वय र नेतृत्व गर्ने व्यवस्था रहेको जनाएको छ ।

कोशी प्रदेश समितिले मंसिर २२ गते विराटनगरमा नै पहिलो प्रदेश सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेको छ । त्यही कार्यक्रमअगावै शेखर पक्षको कार्यक्रम सार्वजनिक भएसँगै केन्द्रले चासो दिएको सभापति चापागाईंले बताए । ‘केन्द्रीय सभापति सहभागी हुने कार्यक्रमलाई असर पुग्ला भनेर उहाँहरूको चासो बढेजस्तो देखिन्छ,’ उनले भने ।

कांग्रेस कोशी प्रदेश समितिका प्रवक्ता बासु कोइरालाले केन्द्रले निर्देशन गरिसकेपछि कार्यक्रम आयोजना गर्न नहुने बताउँदै भने, ‘१८ गते कांग्रेसका कुनै कार्यक्रम नै छैन भनेर केन्द्रले स्पष्ट निर्देशन गरिसकेपछि फेरि कुन कांग्रेसले कार्यक्रम आयोजना गर्ने?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका