जोडिनुहोस
  • होमपेज
  • नागार्जुनका मेयर बस्नेतविरूद्ध मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा

नागार्जुनका मेयर बस्नेतविरूद्ध मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा

काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत स्वतः निलम्बनमा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार बस्नेतविरूद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) ऐन, २०६४ को दफा २७ अनुसार स्वतः निलम्बनमा पर्ने व्यवस्था छ। दुबै कसुरले मुद्दा दायर भएपछि अन्तिम किनारा नलागेसम्म त्यस्ता व्यक्ति स्वतः निलम्बन भएको मानिने उल्लेख छ।

अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले पनि मुद्दा दायर भएसँगै ऐन अनुसार निलम्बनमा परेको बताए। भ्रष्टाचार निवारण ऐनले जनप्रतिनिधिलाई पनि राष्ट्रसेवकको रूपमा मानेको छ। ‘राष्ट्रसेवक भन्नाले प्रचलित कानुन बमोजिम सार्वजनिक पद धारण गरेको मानिने व्यक्ति सम्झनुपर्छ,’ ऐनमा भनिएको छ।

यसरी मुद्दा दर्ता भएपछि अनुसन्धान अधिकृतले नगरपालिकालाई पत्राचार गरिने सूचना अधिकारी थपलियाले बताए। ‘मुद्दा दर्ता भएसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको छ। निलम्बनमा परेको जानकारी अख्तियारका अनुसन्धान अधिकृतले नगरपालिकालाई जानकारी गराउने प्रावधान छ,’ उनले भने, ‘हिजै चिठ्ठी पठाइसकेको छ।’

बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। अख्तियारले मोहन बस्नेतसँगै उनकी श्रीमती उर्मिला र राजुप्रसाद कँडेलविरूद्ध पनि मुद्दा दायर गरेको हो। अन्य दुई वटा कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको छ। राजुप्रसाद पद्म कोलोनी प्रालि र पद्म मर्चेन्ट प्रालिका सञ्चालक हुन्। दुई वटै कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो।

मोहन बस्नेतविरूद्ध भ्रष्टाचारको मुद्दामा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँको बिगो कायम गरिएको छ। त्यस्तै, सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो कायम भएको हो। अख्तियारको अनुसार बस्नेतले आफ्नो पदको दुरूपयोग गरी राजुप्रसाद कँडेलबाट घुस लिएको देखिएको हो। राजुप्रसाद पद्मा कोलोनी, पद्मा मर्चेन्टसँगै जगतगुरू कृपालु प्रतिष्ठानका सञ्चालक पनि हुन्।

घुस लिने मनसायले प्रतिष्ठानलाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको देखिएको थियो। त्यस्तै प्रतिष्‍ठानलाई व्यक्ति तथा संघ संस्थाहरूबाट ७ अर्ब ४८ करोड विदेशी सहायता सहमति दिन लगाएको समेत देखिएको थियो। प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखत गरेर प्रतिष्ठानको ख्याति (गुडविल) मा वृद्धि गराएको अख्तियारले जनाएको छ। नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनेर राजुप्रसादलाई मेयर बस्नेतले जग्गाहरू उपलब्ध गराउन सम्झौता गराएका थिए।

बस्नेतले ३ करोड ७२ हजार रुपैयाँ जग्गाधनीहरूलाई भुक्तानी दिएर जगतगुरू कृपालु प्रतिष्ठान नेपालले मन्दिरको लागि जग्गा लिने भनेर बैनापट्टा गरेका थिए। यसरी काम गरिदिएबापत बस्नेत दम्पतीले घुस पाएको अख्तियारले जनाएको छ।

बस्नेत दम्पतीको खातामा दुई करोड १५ लाख ७३ हजार ३९५ रुपैयाँ जम्मा भएको देखिएको थियो। त्यस्तै ६ करोड ८२ लाख बराबरको जग्गा पनि लिएको खुलेको छ।

अख्तियारको प्रतिवेदन अनुसार राजुप्रसादले छोराको बिहे भोज गर्दा होटलमा २४ लाख रकम भुक्तानीसमेत गरिदिएको खुलेको छ। यसरी जम्मा ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ घुस लिएको अख्तियारको दाबी छ। सम्पत्ति शुद्धीकरणतर्फ पनि उनीहरू तीनै जनाविरूद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो कायम गरेको छ।

corruption-chart-1735539650.JPG

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका