जोडिनुहोस
  • होमपेज
  • हिउँदे अधिवेशनः पहिलो दिन प्रधानमन्त्री सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

हिउँदे अधिवेशनः पहिलो दिन प्रधानमन्त्री सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं। यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारूढ नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसद्को हिउँदे अधिवेशनअन्तर्गत कार्यतालिका बनाइएको जानकारी दिए ।

उनका अनुसार संसद्को पहिलो दिन सुरूमा प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।

“संसद्को पहिलो दिनको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ । त्यसपछि विपक्षी दलका नेतासहित सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रारम्भिक कार्यसूची तय गरिएको छ”, मुख्य सचेतक बर्तौलाले भने । माघ महिनाभरको संसद्को बैठकको कार्यतालिका तयार भएको र सोहीअनुसार अगाडि बढ्ने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

त्यसपछिका बैठकमा संसद्मा पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजको बैठकले तयार गरेको कार्यतालिका मङ्गलबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले अनुमोदन गर्नेछ ।

मुख्य सचेतक बर्तौलाले आगामी अधिवेशनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण विधेयक एवं थाती रहेका कानुन पारित गर्नेगरी सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबीच समझदारी भएको जानकारी दिए ।

उनले संसद्को प्रभावकारिता बढाउँदै रचनात्मक र क्रियाशील बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक निशा डाँगी पनि सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका