देश
मानव अधिकार तथा शान्ति समाजद्धारा आयोजित ”स्रष्टा सम्मान पुरस्कार २०८२” का लागि ७ प्रदेशका १४ जना स्रष्टाहरु पुरस्कृत

मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार ७ जना महिला स्रष्टासहित ७ प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृतहुनेहरुमा वनस्पति शास्त्री वैज्ञानिक स्रष्टा डा. तीर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, झर्रोवादी आन्दोलनका हस्ती प्रा.चूडामणि रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका अग्रणी स्रष्टा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृत वङ्गमयका अग्रणी स्रष्टा प्रा.डा.गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान र अग्रणी कथाकार भागीरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसै गरी कर्णालीको उत्थानका लागि सक्रिय स्रष्टा माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, मगर भाषाका अग्रणी स्रष्टा रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, मैथिली भाषाकी अग्रणी स्रष्टा करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात, किराँती–रोदुङ मातृभाषा अग्रणी स्रष्टा वाग्देवी यालुङ्छा राईलाई जोगमाया बराल स्रष्टा सौगात, सामाजिक न्यायका लागि अभियानरत स्रष्टा पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, थारु भाषाकी अग्रणी महिला स्रष्टा शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, तमु साहित्यको प्रवर्द्धनका लागि क्रियाशील स्रष्टा गौरी तमुलाई जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
२०८२ असोज ९ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरूमध्येबाट सो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरी २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गरिने छ ।









































