
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले सडक तमासा देखाएको टिप्पणी गरेका छन्। भक्तपुरको गुण्डुमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई सडक तमासा नदेखाउन, मुलुक चलाउने विषयलाई ख्याल ठट्टाको रूपमा नलिन भने। ‘तमासा के गर्नुभयो भने म काठमाडौंको डाँडो काटेर पर्तिर जान नपाउने! ऊ त्यो डाँडोसम्म जान पाउँछ, त्यहाँबाट पल्लापटि हेर्न पाइने कि नपाइने थाहा छैन, पर्तिरपट्टि पानी ढल, काठमाडौं उपत्यका छाड्न नपाउने भनेको त्यही त होला, पानी ढलको सिमाना वाह! यो सडक तमासा नभए के हो?,’ उनले भने।
वर्तमान सरकार नेपालीको समेत नभएको टिप्पणी समेत वलीले गरे। ‘मैले अस्ति पनि भनेँ, यो सरकार जसरी बन्यो, मैले संक्षिप्तमा मात्रै भनेको छु, यो सरकार हाहुबाट बनेको हो। यसको अलिक व्याख्या गरेको छैन, समयमा गरौंला, यो कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन। अन्त कतैको भए थाहा छैन। कसैले छानेको सरकार होइन यो। उहाँहरू एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ,’ उनले भने। यो सरकारले आफ्नो र पूर्वगृहमन्त्री रमेश लेखकलाई जसरी हुन्छ पक्राउ गर्ने योजना बनाइरहेको, रातिराति मिटिङ बसेको भन्दै तमासा नदेखाउन भने। ‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ? के सोच्या छ? तपाईंहरू कतिले यो गृहमन्त्रीको नाम सुन्नुभएको थियो? यो गृहमन्त्रीको? मैले त नाम पनि सुनेको थिइनँ। गृहमन्त्री भएपछि थाहा पाएँ। गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै भन्नुपरेको छैन। गृहमन्त्री बाबुलाई धेरै नअत्तालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु। राजनीति ख्याल ठट्टा होइन, देश चलाउने ख्याल ठट्टा होइन,’ उनले भने।







































