
रिहा भएर आएपछि रास्वपा सभापति रवि लामिछानेले पछिल्लो दुई दिनमा दोस्रो पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। रविले फागुन २१ को आमनिर्वाचनमा बालेनलाई नै प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेको बालेन निकट स्रोतले जनाएको छ।यसका लागि बालेनसमेत संलग्न ‘देश विकास पार्टी’ र रास्वपा एकीकरण गर्ने र एकीकृत पार्टीको नाम रास्वपा राख्ने प्रस्ताव गरिएको बालेन निकट स्रोतले दाबी गरेको छ। रास्वपा स्रोतले भने बालेनसँग सहकार्य गरेर जानेबारे छलफल भइरहे पनि यति विस्तृतमा कुराकानी नभएको बतायो।
रवी पुस ४ गते शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा ३ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक जमानत बुझाएर जेलमुक्त भएका हुन्। त्यसको एक दिनअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलले लामिछानेलाई सशर्त छाड्न आदेश दिएको थियो। थुनामुक्त भएसँगै उनलाई फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बाटो खुलेको छ। प्रतिनिधिसभा निर्वाचन ऐनले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई चुनाव उठ्न रोक लगाएको छैन। तर लामिछाने फागुन २१ को चुनावमा विजयी भए पनि सांसदका रूपमा काम गर्न र मन्त्री बन्न पाउने छैनन्। कानुन अनुसार सांसद पद निलम्बन भएको व्यक्ति मन्त्री बन्न सक्दैनन्।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ ले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएपछि कुनै पनि कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन हुने व्यवस्था गरेको छ। धरौटीमा जेलमुक्त भएलगत्तै लामिछानेले राजनीतिक भेटघाट तीव्र पारेका छन्। काठमाडौं फर्किनेबित्तिकै उनले जेनजी आन्दोलनका घाइते र सहिदका परिवारलाई भेटेका थिए। लामिछाने सहितको रास्वपा टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेको थियो।





























