जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न ‘सकारात्मक’

प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न ‘सकारात्मक’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट चुनाव लड्न जिल्ला नेताहरूले अनुरोध गरेका छन् । आफ्नो अनुरोधमा प्रचण्ड सकारात्मक रहेको नेताहरूले बताएका छन् । चुनावबारे छलफल गर्न साविक माओवादी केन्द्रका नेताहरूको टोली काठमाडौं आएको छ । सो टोलीले दुई दिनसम्म ललितपुरको एक क्याफेमा प्रचण्डसँग छलफल गरेको थियो । छलफल सकारात्मक रहेको रुकुम पूर्वका जिल्ला संयोजक कुमारी बराल (गौतम) ले बताइन् । ‘हाम्रो अनुरोध रुकुमबाट चुनाव लड्नुस् भन्ने हो, त्यो कुरामा उहाँ पनि सकारात्मक हुनुहुन्छ,’ बरालले अनलाइनखबरसँग भनिन् । रुकुम पूर्वबाट काठमाडौं आएका जिल्ला इञ्चार्ज तेजबहादुर ओली (प्रतीक), संयोजक बराल, पूर्ण घर्ती, दलजित शेर्पाली, होमप्रकाश श्रेष्ठ (हिमाल) लगायत नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए । छलफलमा रुकुम पूर्वकै नेताहरू पार्टी केन्द्रीय कार्यालयका सचिव गणेशमान पुन, पार्टी केन्द्रीय सदस्य सुवोधराज शेर्पाली, सरल सहयात्री, केशव रावल लगायतका नेताहरू पनि सहभागी थिए ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वले प्रत्यक्षतर्फ नौ जना आकांक्षीको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ तेजबहादुर ओली, गणेशमान पुन, दलजित शेर्पाली, जितमान पुन, सुवोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सिर्जना कार्कीको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको थियो ।

समानुपातिकतर्फ सुनिता बुढा (महिला), दिपेन्द्र छन्त्याल (अल्पसंख्यक), टिकाराम उपाध्याय (अन्य), हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी (दलित)बाट सिफारिस भएका छन् ।

तत्कालीन माओवादीले २०५२ सालमा ‘जनयुद्ध’ सुरु गरेको रुकुम पूर्वलाई आधार इलाका भनेर पनि ठान्ने गर्दछ । अहिलेसम्म पनि माओवादीको पकड बलियो मानिने भएकाले रुकुम पूर्व प्रचण्डलाई सुरक्षित हुने ठानिएको छ । ‘जनयुद्धका सुप्रिमो प्रचण्डलाई रुकुम पूर्व जस्तो सुरक्षित अर्को देखेका छैनौं,’ छलफलमा सहभागी एक नेताले भने । छलफलमा सहभागी अर्का एक नेताले पनि रुकुम पूर्वबाट चुनाव लड्न प्रचण्ड ‘नब्बे प्रतिशत सकारात्मक’ भएको बताए ।

‘करिब नब्बे प्रतिशत कुरा मिलिसकेको छ । जिल्लाका अहिलेका नेताहरुले आफ्नो व्यवस्थापनको ग्यारेन्टी पनि खोजेका छन्, त्यो कुरा मिलेपछि प्रचण्ड रुकुमबाट चुनाव लड्ने निश्चित हुन्छ ।’ प्रचण्डले अझै समय बाँकी रहेकाले छलफललाई निरन्तरता दिने बताएका छन् ।

‘सोलुदेखि कालिकोटसम्मका साथीहरूले हाम्रो क्षेत्रबाट चुनाव लडिदिनुपर्‍यो भनेर उहाँलाई अनुरोध आएको छ । विभिन्न निर्वाचन क्षेत्रमा एकल सिफारिस पनि भएको छ,’ पुनले भने, ‘त्यसबारे छलफल भइरहेको छ, टुंगो लागेको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका