
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य पद पूर्तिका लागि आज सातै प्रदेशमा मतदान हुँदैछ । निर्वाचन आयोगकाअनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ । तीमध्ये कोशी प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १८ पदका लागि विभिन्न प्रदेशमा मतदान भइरहेको छ । मतदानमा प्रदेश सभा सदस्य तथा गाउँपालिका/नगरपालिकाका प्रमुख/उपप्रमुखहरू सहभागी हुनेछन् ।
राष्ट्रिय जनगणना २०७८ को आधारमा कायम नयाँ मतभारअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रमुख-उपप्रमुखको १९ रहेको छ । प्रमुख राजनीतिक दलहरू नेपाली काँग्रेस र नेकपा (एमाले) बीच गठबन्धन भएको छ । अन्य दलहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । मतदानपछि सोही दिन मतगणना हुने आयोगले जनाएको छ । यो निर्वाचनले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभालाई पूर्णता दिनेछ ।






































