जोडिनुहोस
  • होमपेज
  • बालेनका सल्लाहकार लम्साललाई उम्मेदवार बनाएपछि असन्तुष्ट कुँवरले छाडे रास्वपा

बालेनका सल्लाहकार लम्साललाई उम्मेदवार बनाएपछि असन्तुष्ट कुँवरले छाडे रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन् ।

पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टी छाडेको उनले बताएका छन् ।

रुपन्देही–१ बाट कुँवर सहित ६ जना सिफारिस भएका थिए । तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो । लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका व्यक्ति हुन् ।

उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।

समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिने भ्रष्टाचारको नयाँ तरिका भएको आरोप कुँवरको छ ।

‘म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ, रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जीसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले दुई लाख रुपैयाँ खर्च गरेर आएर उम्मेदवार सिफारिस पनि भएँ, प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वासमा रहेँ । तर भएन,’ कुँवरले भने, ‘रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका हो ।’

रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर बिगारेको कुँवरको भनाइ छ ।

उनले अब आफू रवि लामिछाने वा अरु कसैले भने पनि रास्वपामा नफर्किने जिकिर गरे ।

हिजो मात्रै रास्वपाका नेता प्रणयशमशेर राणाले पनि पार्टीले प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शी काम गरेको बताएका थिए ।

रास्वपाबाट काठमाडौं–५ मा अघिल्लोपटक उम्मेदवार बनेका र यसपटक पनि छनोट प्रक्रियामा सहभागी राणाले प्रारम्भिक मतदानको विधि अनुसार उम्मेदवार छनोट नभएको हुँदा शुल्क फिर्ता गर्न माग गरेका थिए ।

पार्टीले प्रारम्भिक मतदानको विधि लत्याएको उल्लेख गर्दै भिडियोमार्फत राणाले आपत्ति जनाएका थिए । रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार हुन इच्छुकका लागि प्रति व्यक्ति २५ हजार र समानुपातिकमा समावेश गर्ने भन्दै ५० हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका