
काठमाडौं। अघिल्लो हप्ताको मुसलधारे वर्षापछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग अझै पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेको विभिन्न ठाउँमा पहिरोले भत्काएको सडक अझै अवरुद्ध रहेको हो ।
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ८ मा पर्ने चारसयबेशी, वडा नम्बर ११ को कालढुङ्गा र वडा नम्बर १२ प्याकुरेलमा सडक पूर्णरूपमा अवरुद्ध छ । यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको अक्करे भीरमा पनि सडक पूर्णरूपमा अवरुद्ध छ ।
सिन्धुलीको खुर्कोटबाट रामेछापको मन्थली जोड्ने सुनकोशीको पुल भत्किएका कारण खुर्कोट–मन्थली सडक पूर्णरूपमा अवरुद्ध छ । सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरो र पुल भत्किएका कारण बाह्रबिशे तातोपानी सडक पूर्णरूपमा अवरुद्ध छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा गएको पहिरोका कारण भीमफेदी, कुलेखानी, फाखेल सडक पूर्णरूपमा अवरुद्ध छ ।
यस्तै पहिरोले सिस्नेरी–दक्षिणकाली सडक र कान्ति लोकपथ पनि पूर्णरूपमा अवरुद्ध छ । अन्य ठाउँका कतै एकतर्फी र कतै पालो गरेर सडक सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।
यसैबीच बाढी पहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए ।
तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले बताए ।
त्यहाँ अहिलेलाई साना गाडी मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका गाडीलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मङ्गलटारको इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए ।
बीपी राजमार्गमा फसेका गाडीमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाण्डौ पुगेका छन् । रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नम्बर ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी गाडीलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उनले दिए ।
सडकको अवस्था :






























