जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको कराची विमानस्थल नजिकै विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको मृत्यु

पाकिस्तानको कराची विमानस्थल नजिकै विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको मृत्यु

एजेन्सी। पाकिस्तानको कराचीमा रहेको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा दुई जना चिनियाँ नागरिकले ज्यान गुमाएका छन् । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासले भने गएराति भएको विस्फोटमा अरू धेरै पाकिस्तानी नागरिकले पनि ज्यान गुमाएका र धेरै घाइते भएका जनाएको छ । तर मृतकको सङ्ख्या अझै पनि स्पष्ट नरहेको बीबीसीले जनाएको छ ।

घटनास्थल पुगेका एक जना प्रहरी प्रवक्ता गुलाम अजफर महेशरले एउटा इन्धन ट्याङ्करमा पनि आगो लागेको र त्यसले गर्दा नजिकै रहेका गाडीहरू पनि जलेका बताउनुभएको खबरमा उल्लेख छ । एउटा पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए) ले आफूले चिनियाँ इन्जिनियर र लगानीकर्ता चढेका गाडी लक्षित आक्रमण गरेको भन्दै घटनाको जिम्मेवारी लिएको छ ।

उग्रवादी समूहले आज सार्वजनिक गरेको विज्ञप्तिमा कराची विमानस्थलबाट आइरहेको चिनियाँ इन्जिनियर र लगानीकर्ताको गाडीलाई आफूले निशाना बनाएको उल्लेख छ ।

चिनियाँ राजदूतावासले भने सिन्ध प्रान्तमा रहेको एउटा ऊर्जा परियोजनाका इन्जिनियरहरूलाई लक्षित गरी आक्रमण भएको बताएको छ । चिनियाँ लगानीको पोर्ट कासिम पावर जेनेरेशन कम्पनी लिमिटेडका इन्जिनियरहरू आक्रमणमा परेका चिनियाँ राजदूतावासले जनाएको छ ।

यो कम्पनीले कराचीको पोर्ट कासिम नजिकै दुई वटा कोइलाबाट चल्ने ऊर्जा केन्द्र बनाइरहेको छ । यो ऊर्जा उत्पादन केन्द्र चीन–पाकिस्तान आर्थिक करिडरको हिस्सा हो । त्यसले पाकिस्तानको बलोचिस्तान प्रान्तमा कैयौं ऊर्जा र पूर्वाधार परियोजनामा लगानी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?