जोडिनुहोस
  • होमपेज
  • साफ वुमन्स च्याम्पियनसिप: भुटानसँग खेल्दै नेपाल

साफ वुमन्स च्याम्पियनसिप: भुटानसँग खेल्दै नेपाल

गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले भुटानविरुद्ध खेल्न लागेको हो।

भुटानविरुद्ध लगातार गोल गर्दै आएकी साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी हुन्। यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा साम्बाले गोल गरेकी थिइन्। नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन्।

तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ। साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ।

यूएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थिए। जसमा सबै खेल नेपालले जितेको छ। सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८-० ले पराजित गरेको थियो। त्यसै खेलबाट साम्बाले नेपालको लागि डेब्यु गरेकी थिइन् र एक गोल गरेकी थिइन्। यस्तै सन् २०१६ मा भारतको सिलीगुरीमा भएको चौथो साफमा साम्बाले दोहोरो ह्याट्रिक गर्दा नेपालले भुटानलाई ८-० ले नै पराजित गरेको थियो।

सन् २०१९ मा विराटनगरमा भएको पाँचौ साफमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो। जहाँ साम्बाले एक गोल गरेकी थिइन् । पछिल्लो पटक सन् २०२२ मा दशरथ रंगशालामै भएको छैटौं साफमा साम्बा र अनिता बस्नेतले दुई-दुई गोल गरेपछि नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो।

साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा भुटानसँग नहारेपनि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भुटानलाई हल्का लिएर नखेल्ने बताए।

प्रशिक्षक तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले यस पटक जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ खेल्ने र त्यसका लागि आफ्नो टोली तयार रहेको बताए।

आजै समूह बी को पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि दशरथ रंगशालामै दिउँसो १ बजे सुरु हुनेछ। दुवै टोलीका लागि यो खेलको नतिजा महत्वपूर्ण हुनेछ। किनकी यस खेलको नतिजाबाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका