
काठमाडौं। भारतको प्रधानन्यायाधीशमा सञ्जीव खन्ना नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले भारतको ५१ औं प्रधानन्यायाधीशमा खन्नालाई नियुक्ति गरेका हुन् ।
वर्तमान प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले आगामी नोभेम्बर १० मा अवकाश लिएपछि खन्नाले कार्यभार सम्हाल्ने छन् । उनको कार्यकाल ६ महिनाको रहनेछ ।
कानुनमन्त्री अर्जुन राम मेघवालले राष्ट्रपति मुर्मुले संविधानले दिएको अधिकार प्रयोग गरी प्रधानन्यायाधीशको परामर्शमा खन्नालाई प्रधानन्यायाधीशमा नियुक्त गरेको जानकारी दिएका हुन् ।
सन् १९८३ देखि कानुनी यात्रा सुरु गर्नुभएका खन्नाले आयकर विभागको वरिष्ट स्थायी वकिलको रुपमा काम गरेका थिए । सन् २००५ मा दिल्ली हाइकोर्टको एडिसनल जजको रुपमा बढुवा भएका उनी २००६ मा स्थायी न्यायाधीश बन्नु भएको थियो । पछिल्लो पटक उहाँले दिएको अन्तरिम जमानतका कारण दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल लोकसभा चुनाव प्रचारमा सहभागी हुन पाएका थिए ।





































