
कैलाली। कैलालीमा एक महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५५ वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीय लाली चौधरी र ३० वर्षीय एक महिला रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसप) कविन्द्रसिंह बोहराले जानकारी दिए।
प्रहरीले पक्राउ परेकी महिलाको परिचय खुलाएको छैन। डीएसपी बोहोराका अनुसार उनीहरूले टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया एक बालिकालाई बोक्सी लागेको भन्दै ५५ वर्षीया एक महिलामाथि अमानवीय व्यवहार भएको थियो।
प्रहरीका अनुसार १४ वर्षीया ती बालिका बिरामी भएपछि झारफुकका लागि माता भनिने सुनिल मिस्त्रीको घरमा लगिएको थियो। त्यसक्रममा ती बालिकालाई उनकै ठूलीआमा बोक्सी लागेको आरोप लगाउँदै सुनिल मिस्त्रीले अमानवीय व्यवहार गरेका थिए।
ती महिलाले आफूमाथि बोक्सीको आरोपमा झाँक्री सहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ।





























