जोडिनुहोस
  • होमपेज
  • अपहरणमा संलग्न दुई जना पक्राउ

समाचार

अपहरणमा संलग्न दुई जना पक्राउ

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, जेष्ठ २५, २०८३
अपहरणमा संलग्न दुई जना पक्राउ

वीरगञ्ज (पर्सा)। पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ।

कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगञ्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशङ्कर शर्मालाई पक्राउ गरेको जानकारी दिए।

’गत शुक्रबार महमदको भारतमा अपहरण भएको थियो। महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएका प्रहरीलाई बताएका हुन्,’ उनले भने, ’अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए। सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो ।’

अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवै जना वीरगञ्ज महानगर–१६ का स्थानीय बासिन्दा हुन्। पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेस प्रदेश ०३–०२५ प ३९८० नम्बरको पल्सर मोटरसाइकल र बीआर ०५ एयू ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

प्रहरी नायब उपरीक्षक लम्सालले अपहरणको अभियोग लागेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका