जोडिनुहोस

समाज

चिसो बढेपछि दाउरा वितरण

  • Avatar of Sanchar NP
    Sanchar NP
  • आइतवार, साउन १७, २०८३
चिसो बढेपछि दाउरा वितरण

टीकापुर (कैलाली)। कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।

तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ । एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताए ।

भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौँ भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताए । “रूखका जरा निकालेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।”

टीकापुर नगरपालिका–४ ले पनि आफ्नो वडामा रहेका चोकहरुमा आगो ताप्ने व्यवस्था मिलाएको छ । ढलेका रुख र रूखका जरा खनेर चोकचोकमा दाउरा वितरण गर्न थालिएकोे वडाध्यक्ष लालवीर चौधरीले बताए । ‘‘माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ”, उनले भने, “चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौँ ।”

यस्तै टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रूखका जरा निकालेर दाउरा वितरण गरिनेछ । “गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौँ”, उनले भने, “यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ । चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौँ ।” चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका