जोडिनुहोस
  • होमपेज
  • हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमाः तीन महिनादेखि उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमाः तीन महिनादेखि उत्पादन बन्द

मकवानपुर। हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ ।

उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गएको असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मत गरी गएको मङ्सिरको पहिलो हप्ताबाटै उत्पादन शुरू गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन शुरू गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

उत्पादन शुरू हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो तर त्यो मात्रैले पनि उत्पादन रोकिएको होइन भन्दै उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन शुरू गर्ने भन्ने अन्योल बढेको बताए ।

उत्पादन ठप्प भए पनि कर्मचारीको तलब भत्ता, केही इन्धन खर्च र समान्य मर्मत खर्चलगायतका नियमित खर्च भइरहकाले आर्थिक समस्या बढ्दै गएको उनको भनाइ छ ।

उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताए । उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ ।

विं.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विं.सं. २०४३ देखि सिमेन्ट उत्पादन शुरू गरेको थियो । अहिले उपकरणहरू पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका