जोडिनुहोस
  • होमपेज
  • पोखरा घटनाः बेलुनमा हाइड्रोजन भर्ने भारतीय पक्राउ

पोखरा घटनाः बेलुनमा हाइड्रोजन भर्ने भारतीय पक्राउ

पोखरा। पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट घटनामा एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ । वडा प्रहरी कार्यालय, बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

फागुन ३ गते भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँसेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्काले लागेर विस्फोट भएको थियो । प्रहरीका अनुसार सोही दिन कमलेसलाई नियन्त्रणमा लिइएको हो ।

बेलुन विस्फोटको घटनामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । अर्थमन्त्री पौडेलले उपचारपछि सोमबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज पाएका छन् भने मेयर आचार्यको अझै केही दिन अस्पतालमै उपचार जारी रहने चिकित्सकहरूले बताएका छन् ।

यस घटनाको विस्तृत अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माले जनाएका छन् । उनका अनुसार संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरी बयान लिइरहेको छ ।

पक्राउ परेका कमलेससँग हाइड्रोजन उत्पादन, भण्डारण र बलुन भर्ने प्रक्रियाबारे जानकारी संकलन भइरहेको छ, साथै कानुनी दायरामा ल्याउन आवश्यक कारबाही प्रक्रिया अघि बढाइँदैछ ।

गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।

समितिलाई घटनाको विस्तृत अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ। साथै, आगामी दिनमा हाइड्रोजन ग्यासको नियमनका लागि आवश्यक उपायहरू समेत सिफारिस गर्न भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका