
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको दाबी गरेका छन् । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनको भनाइ छ । हिजोमात्रै कारागारबाट बाहिरिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले मिल्न पर्नेहरू अन्तिम समयमा मिलेर अघि बढ्ने पनि बताए । भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले शनिबार चौबिसकोटीमा सभा आयोजना गर्दै सम्बोधन गरेका थिए ।
‘हामी मिलेर जहाँसम्म मिल्ने र सँगै जाने सवाल छ । मैले कारागारबाट पनि भनेको थिएँ । म कारागारमा छु, मैले जे त्याग गर्न पनि तयार छु,’ लामिछानेले भने, ‘मेरो पार्टी बनाउनुस्, पार्टीले जे निर्णय गर्छ त्यही । मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्यो व्यक्तिको कुनै ठूलो कुरो होइन ।’
‘मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं । हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ । मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन,’ लामिछानेले सम्बोधनको क्रममा भने ।
उनले आफू एउटा चुनावका लागि मात्रै राजनीतिमा नआएको दाबी गरे । ‘यो मिल्ने भन्ने कुरो, एउटा चुनावका लागि होइन । म एउटा चुनावका लागि राजनीतिमा आएको होइन । म एउटा पुस्ताका लागि राजनीतिमा आएको हो,’ लामिछानेले भने ।साथै, उनले सरकारले जसरी पनि चुनाव गराउने बाटोमा काम गर्नुपर्ने पनि बताए ।
‘२४ गते जनआन्दोलन भएको हो । हामी यहीँबाट स्पष्ट गरेर जान्छौं । निर्वाचनमा देश जानुपर्छ । निर्वाचनका लागि जेनजीको रगतबाट चुनिएको यो सरकारले जेनजीको सपना पूरा गर्ने आँट राखोस् । रास्वपा सरकारसँग जेनजीको माग पूरा गराउने र निर्वाचन सम्पन्न गराउने कुरामा खडा हुनेछ रास्वपा,’ लामिछानेले भने, ‘सरकार डराउनुपर्ने केही कुरा छैन । जनताको साथ छ सरकारलाई । जनताको मुद्दा, जेनजीको मागमा विशेषगरी सुशासन कायम गर्ने कुरामा झ्यालबाट ढोकाबाट चिहाउनुपदैन । सिधै अघि बढे हुन्छ । रास्वपा पनि सरकारको साथमा छ ।’ उनले आफू जेनजीहरूकै साथमा रहेको भन्दै चिन्ता नगर्न पनि आग्रह गरे ।







































