जोडिनुहोस
  • होमपेज
  • कांग्रेस–एमाले संसद पुनस्र्थापनाका लागि पूरक रिट लिएर सर्वोच्च जाने

कांग्रेस–एमाले संसद पुनस्र्थापनाका लागि पूरक रिट लिएर सर्वोच्च जाने

काठमाडौं । विघठित प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनस्र्थापनाका लागि पूरक रिट दायर गर्न सर्वोच्च अदालत जाने भएका छन्। दुवै दलले बहुमत सांसदको हस्ताक्षरसहित पूरक रिट दर्ता गर्न लागेका हुन्।

यसअघि कांग्रेस र एमालेले छुट्टाछुट्टै रिट दायर गरिसकेका छन्। पूरक रिट दर्ताको तयारी अघि बढ्दै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो दोस्रोपटक भेटवार्ता भएको थियो। मंसिर १९ गते भएको पहिलो भेटपछि कांग्रेस संसद पुनस्र्थापनाको पक्षमा रिट लिएर सर्वोच्च पुगेको थियो।

कांग्रेस सचेतक सुशीला थिङका अनुसार आज पूरक रिट दर्ता गरिने तयारी छ। उहाँका अनुसार कांग्रेसका ६५ सांसदले संसद पुनस्र्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुनस्र्थापनाको पक्षमा आउने संकेत दिएको छ।

त्यसैगरी जनमत पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तीन सांसदले पनि पुनस्र्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। एमालेतर्फबाट यसअघि प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल मात्र रिट लिएर सर्वोच्च पुगेका थिए। अहिले एमालेका तर्फबाट ७५ सांसदले पूरक रिटका लागि हस्ताक्षर गरेका छन्।

निर्वाचन तयारीको साटो कांग्रेस र एमाले पुरानै संसदको शक्ति र अघिल्लो गठबन्धन पुनः सक्रिय गर्न खोजिरहेको टिप्पणी पनि भइरहेको छ। यद्यपि कांग्रेसको औपचारिक निर्णय भने निर्वाचनमै जाने रहेको बताइन्छ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमुक्त भएपछि सरकारको समर्थनमा उभिएका छन्। हिजो राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भएको भेट र त्यसपछि आएको एकताको सन्देशलाई निर्वाचन र संसद पुनस्र्थापनाको पक्षमा रहेका शक्तिहरूबीच नयाँ राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ।

यसैबीच निर्वाचन आयोगले हिजो गरेको सर्वदलीय छलफलमा राजनीतिक दल र सरकार दुवै निर्वाचन र संसद पुनस्र्थापनाबारे स्पष्ट निर्णयमा पुग्न नसकेको देखिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका