
माओवादी आन्दोलनभित्रको पुरानो शक्ति सन्तुलन अहिले तीव्र रूपमा बदलिँदैछ । रुकुमबाट सुरु भएको जनार्दन शर्मा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको राजनीतिक टकराव अब व्यक्तिगत असन्तुष्टिभन्दा माथि उठेर रणनीतिक संघर्षमा रूपान्तरित भएको छ । एमालेसँगको क्षेत्रगत समझदारीले जनार्दनले प्रचण्डलाई प्रत्यक्ष चुनौती दिएका छन् । यही कारण प्रचण्ड अहिले ‘रेड जोन’ मा पुगेको विश्लेषण हुन थालेको छ ।
नेपालको कम्युनिस्ट राजनीतिमा शक्ति संघर्ष नयाँ होइन । तर पछिल्लो समय रुकुम केन्द्रित भएर देखिएको राजनीतिक घटनाक्रम भने सामान्य आन्तरिक विवादभन्दा गहिरो देखिन्छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका लामो समयका विश्वास पात्र जनार्दन शर्माबीचको टकराव अब खुला राजनीतिक मोर्चाबन्दीमा परिणत भएको छ । यस टकरावको केन्द्रमा छ, एमालेसँग गरिएको क्षेत्रगत समझदारी, जसलाई प्रचण्डविरुद्धको ‘रणनीतिक दनक’ का रूपमा हेरिएको छ ।
जनार्दन शर्मा माओवादी आन्दोलनका पुराना र प्रभावशाली नेता हुन् । रुकुम पश्चिममा दुई दशकभन्दा बढी समयदेखि उनको बलियो पकड रहँदै आएको छ । २०६४ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका शर्माले २०७९ को निर्वाचनमा पनि ठूलो मतान्तरले विजय हासिल गरेका थिए । तर पार्टी विभाजनपछि उनले प्रचण्डसँग बाटो अलग गर्दै ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) गठन गरे । यही विभाजनले अहिलेको राजनीतिक समीकरणलाई थप जटिल बनाएको छ ।
रुकुम पश्चिममा आफ्नै पार्टीका कार्यकर्ताबाट कालो झण्डा देखाएर विरोध भएपछि शर्मा सचेत बने । उम्मेदवारी दर्तापछि जिल्लाको मतगणित हेर्दा परिस्थिति पहिलेभन्दा फरक देखियो । कांग्रेस, रास्वपा र अन्य दलको उपस्थिति बढेको, उम्मेदवार संख्या १२ पुगेको अवस्थाले शर्मालाई आफ्नो सिट सुरक्षित गर्न नयाँ रणनीति बनाउन बाध्य बनायो । यही सन्दर्भमा उनले एमालेसँग तालमेलको बाटो रोजेको देखिन्छ ।
गत निर्वाचनमा शर्माले ३९ हजारभन्दा बढी मत पाएर जित्दा एमालेका उम्मेदवारले करिब १३ हजार मत ल्याएका थिए । समानुपातिकतर्फ एमाले र कांग्रेसको मत झन्डै बराबर थियो । अहिलेको परिस्थितिमा यी मतहरू निर्णायक हुन सक्ने आँकलनसहित एमालेसँग सहमति गरिएको बुझिन्छ । यस सहमतिअनुसार एमालेका उम्मेदवारहरू निष्क्रिय रहने र एमाले मतदाताले प्रलोपाका उम्मेदवारलाई मतदान गर्ने व्यवस्था गरिएको छ । यो समझदारी रुकुम पश्चिममा मात्रै सीमित छैन । यसको सबैभन्दा राजनीतिक रूपमा संवेदनशील पाटो भने रुकुम पूर्व हो, जहाँ प्रचण्ड स्वयं उम्मेदवार छन् । सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेका प्रचण्डका लागि जनार्दन–एमाले सहकार्य ठूलो दबाब बनेको छ । त्यहाँ प्रलोपाबाट जनयुद्धका सहिदका पुत्र सन्दीप पुन उम्मेदवार बनेका छन् र एमालेले उनलाई समर्थन गर्ने सहमति भएको छ ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको यस क्षेत्रमा एमालेले पाँच हजारभन्दा बढी मत ल्याएको थियो । अहिले माओवादी फुट, एमाले समर्थन र नयाँ उम्मेदवारको प्रवेशले प्रचण्डको जित सहज छैन । यद्यपि, प्रलोपाको संगठन रुकुम पूर्वमा त्यति बलियो छैन । धेरै असन्तुष्ट नेता भए पनि उनीहरू खुलेर प्रचण्डविरुद्ध उभिन सकेका छैनन् । यसले चुनावी परिणाम कता मोडिन्छ भन्ने प्रश्न खुलै राखेको छ ।
यस सहमतिमा अर्को चासोको विषय भनेको हस्ताक्षर गर्ने व्यक्तिहरू हुन् । प्रचण्डविरुद्ध जनार्दनको पक्षमा गरिएको निर्णयमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को हस्ताक्षर हुनु संयोग मात्र होइन । बादल स्वयं माओवादी युद्धका प्रमुख नेता थिए र प्रचण्डसँगको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ । यसले यो सहकार्य केवल स्थानीय चुनावी तालमेल नभई गहिरो राजनीतिक सन्देश बोकेको देखिन्छ ।
समग्रमा हेर्दा, यो राजनीतिक घटनाक्रमले माओवादी आन्दोलनको पुरानो केन्द्र–परिधि सम्बन्धलाई हल्लाइदिएको छ । जनार्दन शर्माले प्रचण्डलाई भाषण वा आलोचनाबाट मात्र नभई, प्रत्यक्ष चुनावी रणनीतिबाट चुनौती दिएका छन् । एमालेसँगको समझदारीले प्रचण्डलाई मनोवैज्ञानिक र राजनीतिक दुवै दबाबमा पारेको छ । यही कारण प्रचण्ड अहिले ‘रेड जोन’मा परेको विश्लेषण बलियो बन्दै गएको छ ।






































