जोडिनुहोस
  • होमपेज
  • दसैँभर काठमाडौं उपत्यकामा ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना

दसैँभर काठमाडौं उपत्यकामा ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना

काठमाडौं। काठमाडौं उपत्यकामा दसैँको अवधिभर (असोज १७ गतेदेखि २८सम्म) ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर)मा जम्मा ११ वटा मात्रै चोरीको घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

जसमध्ये काठमाडौंमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरी भएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी विनोद घिमिरेले बताए । उक्त अवधिमा विशेषगरी दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बढी चोरी भएको पाइएको एसएसपी घिमिरेले बताए ।

अधिकांश चोरी घरमा मान्छे नभएको मौकामा ताला फोडेर भएका छन् । चोरीका घटनामा संलग्न भएकामध्ये केहीलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकको कोठाबाट १७ लाख रुपैयाँ बराबरको चोरी घटनामा संलग्न भएकाहरु लाई समेत पक्राउ गरिएको उनले बताए ।

त्यसैगरी १७ देखि २८ असोजसम्मको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा १३० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ४ जनाको ज्यान गएको छ । जसमध्ये ३ जनाको मृत्यु आफ्नै लापरबाहीका कारण सवारी दुर्घटना भएर मृत्यु भएको प्रहरीको भनाइ छ । अर्का एक जनाको मृत्यु भने ‘हिट एण्ड रन’बाट भएको एसएसपी घिमिरेले बताए ।

हिट एण्ड रन’ घटनामा संलग्न विराटनगर उपमहानगरपालिका–१७ घर भई ललितपुर कुपन्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउसमेत परेका छन् । घटनाको चार दिनपछि कुपन्डोलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

असोज २६ गते साँझ साढे ६ बजेतिर तिनकुन गैरीगाउँ सडकमा सर्लाहीको कबिलास नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ५१ वर्षीय विनोद महरा भन्ने रामविनय महरालाई विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिई घाइते बनाएको थियो ।

घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पताल पु¥याएपछि विष्ट भने फरार भएका थिए । उनको उपचारको क्रममा २७ गते बिहान १ बजे मृत्यु भएको थियो ।

यो अवधिमा साँझको ६ बजेदेखि रातिको ९ बजेको समयमा बढी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । दुर्घटनामा ४ जनाको मृत्यु हुनका साथै १८८ जना घाइते भएका थिए । घाइतेहरु सबैको अवस्था सामान्य रहेको थियो ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको प्रहरीको तथ्यांक छ । त्यो पनि ठिमी–जगाती सडकखण्डमा बढी दुर्घटना भएको एसएसपी घिमिरेले बताए ।

दसैँको यो अवधिमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं र भक्तपुरबाट जुवातास खेलेको आरोपमा एक जना पनि पक्राउ परेनन् । ललितपुरबाट भने २ वटा जुवाखालबाट जम्मा ११ जनालाई पक्राउ गरिएको एसएसपी घिमिरेले बताए।

काठडमाडौं उपत्यका प्रहरी कार्यालयले दसैँ सुरक्षा योजना अनुसार तीन जिल्लामा मात्रै १० हजार प्रहरी परिचालन गरेको थियो । मान्छेको अत्यधिक चाप र दसैँ मनाउन गाउँ जाँदा घर र कोठा रत्तो हुने हुँदा चोरी बढ्न सक्ने भन्दै तीन जिल्लामा थप जनशक्ति परिचालन गरिएको थियो ।

काठमाडौंमा मात्रै दसैँमा हुनसक्ने अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो । दुई रुटमा लङ रेञ्ज गस्ती, ४२ रुटमा सर्ट रेञ्ज गस्तीको व्यवस्था मिलाइएको थियो ।

७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको थियो । सूचना संकलनको रुपमा सादा पोशाकको रुपमा ३८ वटा टोली बनाएर परिचालन गरिएको थियो ।

सिल एण्ड सर्च र कर्डन सर्चको रुपमा २८ टोली खटाइएको थियो भने २२ ठाउँमा एम्बुसिङ चेकिङ गरिएको थियो । नाकाहरुमा हरेक दिन अपराध अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । योजना अनुसार नै दसैँ सुरक्षित भएको एसएसपी घिमिरेलको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका