जोडिनुहोस
  • होमपेज
  • युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाएका छन् । एनआरएनए वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तिकरणलाई आज सम्बोधन गर्दै उनले भने, ‘युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुँदैछ । तपाईँहरूको केही कुरा राख्न सकिन्छ ।’

मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रहि फरक–फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता तथा पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको बताए । ‘डायस्पोराले उद्यमशीलता, स्थानीय अर्थतन्त्रको विकासमा पनि मद्दत पु¥याउन सक्छ । यसका लागि राज्यले सहज लगानीको वातावरण, कर छुट तथा नागरिकताको सहज व्यवस्थापन गर्नुपर्छ’, उनले भने ।

भाषा, संस्कृति, उत्पादन, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा अनुभव तथा सीप प्रयोग गर्न सकिने मन्त्री चौधरीको भनाइ थियो ।

कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता पदम गिरीले नयाँ पुस्तालाई राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस् योजना जरुरी रहेको बताए । यसमा विलम्बन नगरी छिटो नीति ल्याउनुपर्नेमा यहाँले जोड दिए ।

नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले मानव सभ्यताका लागि बसाइँसराइ नियमित प्रक्रिया भएको बताउँदै राष्ट्र निर्माण अगाडि सकारात्मक धारणा विकास गर्नुपर्ने उल्लेख गरे । ‘पोजेटिभ एटिट्युड निर्धारण गर्न सकियो भने कसरी राष्ट्र निर्माण गर्ने स्पष्ट हुन्छ’, उनले भने ।

नेपाली कांग्रेसका नेता केदार कार्कीले नेपालका हरेक सुखदुःखमा साथ दिने प्रवासी नेपालीलाई स्वदेशमा आउँदा सकारात्मक व्यवहार गर्नुपर्ने बताए । उनले दोस्रो र तेस्रो पुस्ताका नेपालीको सीप तथा पुँजी भित्र्याउन राज्यले ढोका खोल्नुपर्नेमा जोड दिए ।

एनआरएन नेपाली युवा समिरा केसीले आधा नेपाली र आधा विदेशी भएर बाँचेका आफूहरूलाई एनआरएनएले नेपालसँग जोड्ने काम गरेको बताए । उनले प्रवासी नेपाली युवाहरू मातृभूमिलाई आफ्नो सीप क्षमता सहयोग गर्न तयार रहेको उल्लेख गरे । एनआरएनए उपाध्यक्ष रोशन थापाले नेपाली जनशक्ति पठाउने र उनीहरूको सीप, क्षमता र पुँजी भित्र्याउने दोहोरो नीति आवश्यक रहेको बताए ।

खेलाडीलाई नगदसहित सम्मान

यसैगरी गैरआवासी नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खेलाडीलाई सम्मान गरेको छ । गैरआवासीय नेपाली दिवस वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ का अवसरमा राष्ट्रका लागि मेडल ल्याउने खेलाडीलाई सम्मान गरिएको हो ।

प्यारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्धनलाई खेलकुदमन्त्री तेजुलाल चौधरी र एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाले ३० हजार नगद र प्रमाणपत्रसहित सम्मान प्रदान गरे । समारोहमा पलेशाका बुबा प्रदिप गोवर्धले पुरस्कार ग्रहण गरेका थिए । कराँतेमा प्रथम एसियन रजतपदक विजेता एरिका गुरुङलाई २५ हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

अष्ट्रियाको भियनामा सम्पन्न गोजुरियो कराँतेको कातातर्फ स्वर्णपदक विजेता एनआरनएका खेलाडी एनोज महर्जनलाई २० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका