जोडिनुहोस
  • होमपेज
  • सूर्यदर्शन सहकारी ठगीमा सरकारी वकिलको जवाफी बहस आज, आजै आदेश आउन सक्ने

सूर्यदर्शन सहकारी ठगीमा सरकारी वकिलको जवाफी बहस आज, आजै आदेश आउन सक्ने

पोखरा। सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाविरुद्धको थुनछेकमा प्रतिवादी र जाहेरवालाका कानुन व्यवसायीको बहस सकिएको छ । सरकारी वकिलले बिहीबार (आज) जवाफी बहस गरेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासबाट आदेश आउनेछ ।

जिल्ला अदालतमा बुधबार जाहेरवालाका तर्फबाट अधिवक्ता रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका थिए । त्यसअघि प्रतिवादी रामबहादुर खनालका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका थिए ।

प्रतिवादी कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्तीमगरले थुनछेक बहस गरेका थिए । छविलाल जोशी, लीला पछाई र रवि लामिछाने पक्षका कानुन व्यवसायीको बहस भने यसअघि नै सकिएको थियो ।

जाहेरवालातर्फका कानुन व्यवसायीले लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न यथेष्ट प्रमाण रहेको तर्क गरे । अधिवक्ता कर्णले सहकारीबाट गैरकानुनी रूपमा रकम लगेर ग्यालेक्सी टीभी खोल्ने उद्देश्यले नै गोर्खा मिडिया नेटवर्क प्रालि नामक कम्पनी खडा भएकाले संगठित रूपमा सहकारी ठगी भएको दाबी गरे ।

उनले गोर्खा मिडियामा लामिछाने प्रबन्ध निर्देशकका रूपमा कार्यकारी भूमिकामा रहने हुँदा जीबी राईलाई देखाएर उम्किन नमिल्ने तर्क गरे ।

‘सहकारीबाट गोर्खा मिडियामा पैसा लगेर अपचलन गर्न जीबी राईलाई मात्र दोषी देखाइएको छ । राईको एकल भूमिकामा यति ठूलो अपचलन सम्भव छैन,’ उनले भनेका थिए, ‘सहकारीको पैसा अपचलन गर्न गोर्खा मिडिया खोलिएको र त्यहाँबाट पैसा खर्च गर्न रवि लामिछाने एमडी (प्रबन्ध निर्देशक) बनेको देखिन्छ । सहकारीको सदस्य बनेर उहाँले ऋण लिनुभएको भए उहाँविरुद्ध यो मुद्दा चल्ने नै थिएन । उहाँले सदस्य नबनी ऋण लिनुभयो, अवैध बाटोबाट लिनुभयो । सहकारीबाट कम्पनीमा लैजानै नमिल्ने पैसा लगेर खर्च गर्नुभयो, त्यही भएर मुद्दा चलेको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका