जोडिनुहोस
  • होमपेज
  • नेपाली विद्यार्थीमाथिको दमनप्रति केआईआईटी विश्वविद्यालयले माफी माग्यो, दुई सुरक्षागार्ड बर्खास्त, तीन कर्मचारी निलम्बित

नेपाली विद्यार्थीमाथिको दमनप्रति केआईआईटी विश्वविद्यालयले माफी माग्यो, दुई सुरक्षागार्ड बर्खास्त, तीन कर्मचारी निलम्बित

काठमाडौं। भारत उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारप्रति माफी मागेको छ । विश्वविद्यालयले विज्ञप्ति सार्वजनिक गर्दै नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने सुरक्षागार्ड र कर्मचारीलाई समेत कारबाही गरेको जनाएको छ ।

मानसिक र शारीरिक दुव्र्यवहार भोगेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई हिजो निस्कासन गरेको थियो । विश्वविद्यालयको छात्रावासबाट हिजो बिहान कुटपिट र गालीगलौज गर्दै विश्वविद्यालय प्रशासनले जबर्जस्ती लखेटेका नेपाली विद्यार्थीहरु रेल्वे स्टेसनमा अलपत्र परेका थिए भने कतिपय होटलमा बस्न वाध्य भएका थिए ।

विश्वविद्यालयले आज जारी गरेको विज्ञप्तिमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने दुई सुरक्षागार्डलाई बर्खास्त गरेको र दुई जना छात्रवासका कर्मचारी र एक जना प्रशासनका कर्मचारीलाई निलम्बन गरेको जनाएको छ । विश्वविद्यालयले क्याम्पस र होस्टलबाट निस्कासित नेपाली विद्यार्थीलाई फर्किन आह्वान पनि गरेको छ । विश्वविद्यालयले घटनाको छानबिनमा सघाउने र विद्यार्थीको सुरक्षामा ध्यान दिने जनाएको छ ।

यसैबीच, कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै भारतका लागि नेपाली राजदूत शंकर शर्माले विश्वविद्यालय प्रशासनले घटनाप्रति माफी मागेको र बस पठाएर नेपाली विद्यार्थीलाई रेल स्टेसनबाट धमाधम छात्रावासमा फर्काइरहेको जानकारी दिनुभयो ।

उडिसाको केआईआईटी विश्वविद्यालयमा १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।

केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी मृत भेटिएको घटना र सबै नेपाली विद्यार्थीलाई गरिएको निस्कासनको घटनाबारे शिक्षा र परराष्ट्र मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली विद्यार्थीको सुरक्षा र दोषीलाई कारबाहीको माग गरेको थियो । नेपाली विद्यार्थीप्रति विश्वविद्यालयले गरेको दुव्र्यवहारको नेपाल र भारतमा चर्को आलोचना भइरहेको छ ।

प्रकृति लम्सालमाथि उत्पीडन गर्ने व्यक्तिलाई भारतीय प्रहरीले हिजै पक्राउ गरिरसकेको छ । अवस्था तनावग्रस्त बनेपछि विश्वविद्यालय परिसरमा सुरक्षा तैनाथी बढाइएको भुवनेश्वर–कटक पुलिस आयुक्त सुरेश दत्त सिंहलाई उद्धृत गर्दै एएनआईले लेखेको छ ।

479917379 937399611901337 3685895241737652224 n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका